पशुपतिनाथमा विद्यार्थीको कपाल काटियो
हेटौंडा- पशुपतिनाथ माविले लामो कपाल पालेका विद्यार्थीको विद्यालयमै कपाल काट्न सुरु गरेको छ । आइतबार विद्यालयमा अध्ययन गर्ने ४० जना विद्यार्थीको निःशुल्क कपाल काटेको विद्यालयले जनाएको छ । विद्यार्थीले लामो कपाल पालेर अशोभनीय कार्य गरेको भन्दै विद्यालयमै कपाल काट्ने ब्यवस्था मिलाइएको बताइएको छ । मनहरी गाउँपालिकाले स्थानीय युवालाई कपाल काट्ने सीप सिकाएर स्वरोजगार बनाउने अभियान थालेको छ । गाउँपालिकाको तालिम लिइरहेका युवालाई दक्ष बनाउनका लागि पनि विद्यालयमा लामो कपाल पाल्ने विद्यार्थीको कपाल काट्ने अभियान थालिएको बताइएको छ ।
यसैगरी, पशुपतिनाथ माविमा पाँचवटा विद्यालयका शिक्षकहरुको मधुमेह परीक्षण गरिएको छ । विद्यालय नर्स बबिता ठाकुरले आइतबार शिक्षकहरुको मधुमेह परीक्षण गरेकी हुन् । पशुपतिनाथ माविसँगै श्रृजना प्रावि, चेपाङ प्रावि, नवज्योति प्रावि र बनकरिया इसीडीका शिक्षकहरुको मधुमेह परीक्षण गरिएको विद्यालयले जनाएको छ । २५ जना शिक्षकको मधुमेह परीक्षण गर्दा ४ जनाको औषत भन्दा बढी देखिएको विद्यालय नर्स ठाकुरले बताइन् ।







