प्रदेश युवा सम्मेलनको तयारी तीव्र

साझाकुरा
२०८१ बैशाख २५, मंगलवार ०८:४८

हेटौंडा- हेटौंडामा हुने प्रदेश युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत बैशाख २८, २९ र ३० गते प्रदेश युवा सम्मेलन हुँदैछ ।हेटौंडामा हुने तीनदिने कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका युवाको सहभागिता रहने प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुनेछ । ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा युवाको ज्ञानसीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।

युवा सम्मेलनमा शिक्षा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीपः देशमा लगानीको सम्भावना र मुख्यमन्त्रीसँग कुरालगायत विषयवस्तु छलफल गरिने छ । छलफलबाट निस्कर्ष निकाल्दै आगामी दिनमा युवाको बीचमा आगामी दिनमा रचनात्मक विषयवस्तु सञ्चालन गर्ने उनले बताए ।

युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताए । सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टीकाराम यात्री र विश्वनाथ कोइराला लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । कार्यक्रमका लागि २७ गते सहभागी हेटौंडा आइपुग्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*