विकट खैराङ क्षेत्रमा बस चलाउने अध्यक्ष मल्लको प्रतिबद्धता

साझाकुरा
२०८१ बैशाख २५, मंगलवार ०८:५४

हेटौंडा- साना बोलेरो भ्यानको असुरक्षित यात्राबाट चौतर्फी आलोचना खेप्दै आइरहेको विकट राक्सिराङ गाउँपालिका–९ खैराङ क्षेत्रलाई लक्षित गरी अर्काे वर्षबाट यात्रुबाहक बस चलाउने गरी रुट अनुमति लिइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रतिबद्धता जनाएका छन् ।उनले जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत नियामक निकायले अहिले पनि बोलेरो भ्यानले ओभरलोड बोकिरहेको र क्षमताभन्दा बढी यात्रु बोकिरहेको भन्दै गुनासो गरिरहेको सुनाए । ‘यो क्षेत्रमा अहिले बोलेरोबाहेक यात्रु बोक्ने अरु सबारी साधन चलेको छैन ।,’ अध्यक्ष मल्लले भने, ‘अर्काे वर्ष यस क्षेत्रमा रुट परमिट लिएरै बस चलाएर सहज ढंगले यात्रु ओसारपसार गर्ने व्यवस्था मिलाइनेछ ।,’

राक्सिराङ गाउँपालिका–९ मा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष मल्लले आफू गाविसको अध्यक्ष हुँदादेखिकै खैराङमा अस्पताल बनाउने सपना पूरा हुँदै गएको जानकारी दिए । सडक व्यवस्थापन गरी १२ महिना चल्ने बाटो निर्माणका लागि संघीय र प्रदेश सरकारलाई समेत साथमा लिएर खैराङबासीको हितका लागि योजना निर्माण भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिका अधिकृत गोविन्द अधिकारीले पालिकाको स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सुशासन लगायतका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राजन मल्लसहितले कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए भने पानी, विजुली, सडक, शिक्षक दरबन्दी, उपभोक्ता समितिको सामान खरिद दररेट लगायत सन्दर्भमा स्थानीयबासीले प्रश्न, गुनासा र सुभाव दिएका थिए । कार्यक्रम ९ नम्बर वडाध्यक्ष रामकुमार बाल्पा थिङका अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*