मकवानपुरगढीमा कृषिसम्बन्धी छलफल

साझाकुरा
२०८१ बैशाख २५, मंगलवार ०८:५७

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषिसम्बन्धी छलफल गरेको छ । पालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरीको उपस्थितिमा छलफल गरेको हो ।संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वको टोली गाउँपालिका पुगेर छलफल गरेको हो । संघका अध्यक्ष गुप्ताले मकवानपुरगढीका किसान तथा कृषिउद्यमी लाभान्वित हुने अपेक्षासहित कृषिसम्बन्धी छलफलको आयोजना गरिएको बताए ।

कार्यक्रममा कृषिउपजको समयमै ढुवानी आवश्यक रहेको, किसानले उचित बजारमूल्य नपाएको लगायत विषय उठान भएको थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बजार प्रवद्र्धन प्रभावकारी भएमा अर्गानिक कृषि उत्पादनले राम्रो बजार पाउने, मकवानपुरगढीमा खोलाको नजिक माछापालन सहित होमस्टेको सम्भावना रहेकाले लगानीकर्ता जुटेमा पालिकाले सहजिकरण गर्ने बताए ।

कृषि शाखाप्रमुख चौधरीले आगामी आर्थिक वर्षबाट किसान परिचयपत्र प्रभावकारी रुपमा वितरण गर्ने, किसानको उद्यमलाई साना, मझौला र ठूला गरी वर्गीकरण गरिने जानकारी दिए । गाउँपालिका उपाध्यक्ष पाख्रिनले किसान र उपभोक्ता दुवैले न्यायोचित मूल्य नपाएको, सहकारी संस्थामार्फत किसानका उत्पादन बिक्री गरिरहेको, कोदो, फापर, धान र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकिनुका साथै किसानलाई प्रतिकिलो उत्पादनमा अनुदान प्रदान गरिरहेको जानकारी दिँदै आगामी वर्षबाट दूध किसानलाई अनुदान वितरण गरिने बताइन् ।

पालिकामा बुढीचौर तरकारी उत्पादनमा अग्रस्थानमा रहेको, केही वडामा बाख्रापालन प्रभावकारी देखिएको, कृषिको क्षेत्रमा सम्भावनायुक्त रहेको, सबैको सामूहिक पहलमा कृषिमार्फत निराशा हटाउन सकिने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*