मनहरी–मलेखु सडकको ट्रयाक पूरा, वर्षायामको चिन्ता यथावत
हेटौंडा–मनहरी–मलेखु सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ । यो सडकलाई हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको छ । राक्सिराङ गाउँपालिकाको दुङ्गु–गार्खा–रतुवा खण्ड छिचोलिएसँगै यो सडकको सबै ट्रयाक निर्माण पूरा भएको राक्सिराङका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । खोलाको अस्थायी बाटो हुँदै केही वर्षअघिदेखि नै मनहरी–मलेखु सडकमा साना सवारीहरु आवतजावत गर्न थाले तापनि अब भने खोलाको बाटोबिनै मलेखु निस्कन सकिने अवस्था रहेको अध्यक्ष मल्लले बताए ।
ट्रयाक निर्माण पूरा भएसँगै अध्यक्ष मल्लसहितको टोलीले मनहरी–बोटबारी–रतुवा–चौकीटार–खैराङ हुँदै धादिङको सीमानासम्म मुल सडकबाटै आवतजावत सुरुवात गरेको छ । गाउँपालिका अध्यक्ष, कर्मचारीसहितको टोलीलाई रतुवामा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए । ‘मनहरीबाट मलेखु जोड्ने छोटो मार्गको ट्रयाक निर्माणको काम पूरा भएको छ, अब वर्षायाममा पनि मनहरीबाट मलेखु निस्कन सक्ने अवस्था बनेको छ,’ मल्लले भने ।
दुङ्गु खोला र घोर्कोटेमा पुल बनाउनुपर्ने उनको भनाई छ । पक्की पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको उनले बताए । गार्खा–रतुवा खण्डको ट्रयाक पूरा गर्नको लागि तीन वर्षअघि नै ठेक्का लगाइएको भए पनि कडा चट्टानका कारण निर्माण कम्पनीले काम गर्न सकेको थिएन । ठेकेदारमार्फत् काम नभएपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले दुंगुबाट गार्खा र गार्खाबाट रतुवासम्म दुइ खण्ड बनाएर उपभोक्ता समितिमार्फत् काम गराएको थियो । दुई खण्डमा ८० लाख रुपैयाँ खर्चिएर यसवर्ष ट्रयाक निर्माण पूरा गरिएको हो ।
सडकको स्तरोन्नति र दुई ठाउँमा पक्की पुल निर्माण गर्नसके वर्षायाममा समेत मनहरी–मलेखु आवतजावत गर्न सकिने अवस्था बनेको गाउँपालिका अध्यक्ष मल्लले बताए । मनहरीदेखि मलेखुको दुरी ५२ किलोमिटर सडक सडक सञ्जालमा जोडिए पनि पक्की पुल नहुँदा वर्षायामको चिन्ता यथावतै रहेको छ । वर्षातमा खोलामा पानीको सतह बढ्ने हुनाले यातायात अवरुद्ध हुन सक्नेछ ।
मनहरी–मलेखु सडकले स्थायित्व पाएपछि राक्सिराङ र कैलाश गाउँपालिकाका नागरिकको जीवनस्तरमा परिवर्तन हुने अपेक्षा गरिएको छ । संघीय संरचनामा जानुपूर्व सडक निर्माण शून्य अवस्थामा रहेको विकट राक्सिराङ गाउँपालिकाले बितेको ६ वर्षयता टोलटोलसम्म सडक विस्तार गरिसकेको छ । मनहरी बजारबाट गाउँपालिका केन्द्र चैनपुरसम्म ६ किलोमिटर सडक कालोपत्रे भइरहेको छ ।







