भीमफेदीमा प्रभावकारी बन्दै पीजीएस प्रणाली
हेटौंडा- भीमफेदी गाउँपालिकाका किसानले अवलम्वन गरेको स्वच्छ उत्पादनको लागि सहभागितामूलक सुनिश्चितता प्रणाली (पीजीएस) को अभ्यासबारे समीक्षा गर्दै अब कार्यदिशाबारे छलफल गरिएको छ ।भीमफेदी–५ सुपिङस्थित शिवशक्ति कृषि सहकारी संस्थाको आयोजनामा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, साना किसान समूह तथा कृषिसहकारीका अध्यक्ष एवम् प्रतिनिधि तथा कृषककोे उपस्थितिमा पीजीएसको कार्यान्वयनको अवस्था र त्यसको प्रभावलगायत विषयमा समीक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले कृषकलाई जैविकखेतीतर्फ उन्मुख गराउने उद्देश्यका सञ्चालित पीजीएस कार्यक्रमबाट किसानमात्रै नभई आम उपभोक्ता लाभान्वित भइरहेको बताए । उनले भीमफेदीलाईअर्गानिक उत्पादनको हब बनाउन पीजीएस कार्यक्रम प्रभावकारी मानिएको भन्दै किसानलाई जैविकखेतीतर्फ लाग्न आह्वान गरे । उनले कृषिउत्पादनको क्षेत्रमा गाउँपालिकाले कृषकसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
उपाध्यक्ष सञ्जीव श्रेष्ठले पछिल्लो समय कृषिउत्पादनमा विषादिको बढ्दो प्रयोगले मानवस्वास्थ्यमा गम्भिर असर पुगिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै जैविकखेतीको माध्ययमबाट कृषिउद्यमशीलता विकास गर्न सुझाव दिए । उनले गाउँपालिकाबाट पीजीएस कार्यक्रमको लोगो प्रमाणित गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ र भीमफेदी–५ का वडाअध्यक्ष जहारसिं लामाले कृषि क्षेत्रको प्रवद्र्धनका लागि थुप्रै रचनात्मक कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा वक्ताहरुले पीजीएस कार्यक्रमबारे कृषकलार्य थप प्रष्ट पार्दै कृषिउत्पादन संकलन केन्द्रको स्थापना गर्नुपर्ने, बाँझो जमिन राख्न नहुने, विषादिको प्रयोग घटाउँदै लैजानुपर्ने विषयमा जोड दिएका थिए । शिवशक्ति कृषि सहकारीले २०२३ को जनवरीबाट २०२४ मार्चसम्ममा पोखरा, सिन्धुली, काठमाडौं र मकवानपुरलगायत क्षेत्रमा २४ पटक किसान चौतारी कार्यक्रम सञ्चालन गरी कृषकलाई पर्यावरणमैत्री कृषि अभ्यासद्वारा स्वच्छ उत्पादनको व्यवहारिक अध्यास गराउन मद्दत पु¥याएको थियो ।
यो अवधिमा पीजीएस प्रणालीलाई पालिकास्तरमा नीतिगत र व्यवहारिकरुपमा अवलम्वन गराउन सफल भएको र स्वच्छ उत्पादनको बजारीकरणमार्फत् उद्यमशीलता प्रवद्र्धन गरिएको सहकारीका अध्यक्ष गिरिराज पुडासैनीले बताए । नेपालफलफूल तथा तरकारी व्यवसायी संघका पूर्वअध्यक्ष खड्गबहादुर मुक्तान, जिल्ला समन्वय समिति पूर्वउपसभापति भगवती पुडासैनी, प्रहरीनिरीक्षक सचिता थापा, सहकारीका सचिव प्रल्हाद पुडासैनीलगायतले धारणा प्रस्तुत गरेका थिए ।
कृषकहरुले उत्साहका साथ पीजीएस प्रणालीलाई निरन्तरता दिइने प्रतिक्रिया दिए । कार्यक्रममा खैंजडी भजन तथा दोहोरीमार्फत् कृषकलाई कृषिसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराइएको थियो ।







