हेटौंडामा सत्तापक्षका सांसदकै गुनासोः सरकारले हाम्रो कुरा सुन्दैन

साझाकुरा
२०८१ बैशाख ३०, आईतवार १४:३४

हेटौंडा- बागमती प्रदेश युवा सम्मेलन–२०८१ को नीति, राजनीति र समृद्धि शीर्षक माथिको बहससँगै युवाको प्रश्न र गुनासो सुन्न आएका प्रतिनिधिसभाका तीन सांसदले आफ्नै गुनासो पोखे ।सत्तारुढ दल नेकपा एमालेका प्रमुखसचेतक महेशकुमार बर्तौला, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा र नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले युवाको प्रश्नको जवाफसँगै आफ्नै पीडा पनि सुनाएका हुन् ।

हेटौंडामा जारी युवा सम्मेलनमा सहभागीले तीनजना सांसदलाई नीति निर्माणमा काम हुन नसकेको, मुलुक अस्थिरतामा फसेको, वडाअध्यक्षले गर्ने काम देखाएर सांसदले भोटको राजनीति गरेको, युवाको मुद्दा सम्बोधन नभएकोलगायत प्रश्न राखेका थिए ।

प्रश्नमाथि तीनैजना सांसदले निर्वाचन प्रणाली, संसदीय अंकगणितले निम्त्यिाएको अस्थिरता र सरकारको नेतृत्वकर्ताको कार्यशैलीलाई कारक तत्वको रुपमा देखाउन खोजे । सांसद बर्तौलाले सांसदले उठाएका विषय ठीक समयमा ठीक ठाउँमा कार्यान्वयन भएको गुनासो गरे । ‘हामी सरकारका नभई जनताका प्रतिनिधि हौं । हामीले उठाएका कुरा सरकारले सुन्दैसुन्दैन, हामी निराश छौं,’ उनले थपे ।

सरकारले जनताका प्रतिनिधिले उठाएको सवाल कार्यान्वयन नगर्दा सांसदहरु बेकामे बनेको पीडा पोखे । विगत डेढ वर्षमा प्रतिनिधिसभाबाट ४ वटा मात्रै कानुन बन्न सकेकाले सांसदमाथि प्रश्न उठ्ने ठाउँ रहेको बर्तौलाले बताए । ८१ वटा कानुन निर्माण गर्नुपर्नेमा ४ वटा मात्रै कानुन निर्माण भएकाले समस्या उत्पन्न भएको उनी बताउँछन् ।

कांग्रेस सचेतक थिङले भनिन्, ‘प्लेटोले भन्नुभएको छ, बुद्धिमान हौ भने राजनीति गर । नत्र मुर्खहरुबाट शासित हुनुपर्छ,’ टालाटुलीबाटुली जस्तै सरकार रहेकाले युवाले अपेक्षा गरेअनुसारको काम हुन नसकेको थिङले दाबी गरिन् । नीतिमा २५ वर्षपछि युवालाई सांसदमा जान सक्ने व्यवस्था गरेकोसमेत थिङले उल्लेख गरिन् ।

स्थिर सरकार बनाउने जिम्मा युवाको काँधमा आएको उनको भनाई थियो । ‘संसदीय अंकगणितले गर्दा कहिले सत्तापक्ष त कहिले प्रतिपक्ष भइराखेका छौं । यसरी काम हुनै सक्दैन नी,’ उनले भनेकी छन् । राज्यको नीति धेरै खराब नभएको तर, परिचालन गर्ने व्यक्ति खराब भएको उनले बताइन् । कानुन निर्माणका सम्बन्धमा विधायकहरुले पर्याप्त समय नपाएको गुनासो गरिन् । विधेयकमाथि संशोधन प्रस्ताव ७२ घण्टाअघि दर्ता गरिसक्नुपर्ने प्रावधान अव्यवहारिक भएको उनको भनाई थियो ।

सांसद थिङले युवाहरु की खाडीमा की कारागारमा पुगेकोमा चिन्ता व्यक्त गरिन् । जर्वजस्तीकरणी र लागूऔषध मुद्दामा युवाले
कारागार भरिएको उनको भनाई थियो । जर्वजस्तीकरणीसम्बन्धी कानुनले तोकेको १८ वर्ष उमेर सीमा र अन्य प्रावधानले धेरै युवालाई जेल पु¥याएको थिङको टिप्पणी थियो । जर्वजस्तीकरणीसम्बन्धी कानुन परिमार्जन आवश्यक रहेको उनले बताइन् । ‘कानुन संशोधनको विषय पनि उठेको छ । तर, यसको अर्थको अनर्थ नलागोस्,’ थिङले भनिन् ।

माओवादी सांसद सापकोटाले शासकीय प्रणालीलाई दोष दिए । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाबाट स्थिर सरकार हुनुपर्ने माओवादीको एजेण्डामा अन्य राजनीतिक दल सहमत नहुँदा संविधान निर्माणकै बेलामा शासकीय प्रणालीको विषयमा गल्ती हुन पुगेको बताए । संसदीय प्रणालीका कारण मुलुकमाअस्थिरता रहेको उनको दाबी थियो ।

प्रधानमन्त्री वडा कार्यालयको उद्घाटनसम्म पुगेको विषय उठेपछि सापकोटाले प्रधानमन्त्रीले सिंहदरबारमा बसेर नीति तथा शासन व्यवस्था सञ्चालन गर्नुपर्ने बताए । सांसदको काम, कर्तव्यमाथि जनता सचेत नभएकोप्रति सापकोटाले गुनासोराखे । भोट माग्न जाँदा सांसदलाई कस्तो कानुन निर्माण गर्छस् भनेर सचेत रुपमा नसोधेसम्म अवस्था नसुध्रिने उनको भनाई थियो । ‘सांसदको काम कानुन निर्माण गर्ने हो । बाटोघाटो बनाउने भइरहेको छ । चुनावमा कानुनका कुरा कम सुनिन्छ । धारा, सडक दिन्छौं भनेर भन्नु परेको छ,’

सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को आयोजनामा भएको प्रदेश युवा सम्मेलन आइतबारसम्म हुनेछ । प्रदेशका १३ जिल्लाको ११९ पालिकामध्ये ८९ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको छ । युवा सम्मेलनमा सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदाय, महिलालाई प्राथमिकता दिएर सहभागी गराइएको परिषद्ले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*