मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवामा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका–७ बिजौनाका २४ वर्षीय विशाल चेपाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जना युवकको मनहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गमा मनहरीबाट हेटौंडातर्फ गइरहेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट गइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ना ३७ प ७६९० नम्बरको मोटरसाइकल चालक राक्सिराङ–३ केराबारीका १८ वर्षीय दीपक दोङ, पछाडि सवार २४ वर्षीय पिटर तामाङ तथा प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको मोटरसाइकल चालक मनहरी–६ बिजौनाका २४ वर्षीय निरज राना घाइते भएका छन् ।