‘मकवानपुर कोरा २०२५’ सम्पन्न, ६ जना सम्मानित

हेटौंडा- धार्मिक साइकलिङ यात्रा ‘मकवानपुर कोरा २०२५’ शनिबार हेटौंडामा बिभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।हिमालयन राइडर्स सोसाइटीको आयोजना भएको कोरा साइकलिङ हेटौंडा–४ भुटनदेवी माविबाट बिहान ७ बजेदेखि सुरु भएको हो । त्यसपछि शीतलमहल चोक, हुप्राचौर हुँदै पशुपति मन्दिर, ओम्याक्स हल हुँदै थाहाचोक, रजतजयन्ती स्तम्भ हुँदै बुद्धचोक, कान्तिराजपथ हुँदै चौघडा पुगेको थियो । चौघडामा मगर समाजले साइकलयात्रीलाई मोही खाने कार्यक्रम आयोजना गरेको थियो । साइकल यात्राले चुच्चेखोला, गैरीगाउँ, शिवम् सिमेन्ट, हटिया, चिसापानी हुँदै रंगशालालाई दायाँबायाँ पारेर नागसोती, कमाने, नमूनाचोक हुँदै शान्तिनगर, भैरवरोड, कान्तिराजपथ, बुद्धचोक, चौकीटोल हुँदै हिमालयन दरबार होटल पुगेको हो ।
कार्यक्रममा सोसाइटीले वातावरण जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ६ जनालाई सम्मान गरेको थियो । २४ वर्षदेखि निरन्तर दैनिक कामकाजको निम्ति साइकल सवार हेटौंडाका पत्रकार गोबिन्द न्यौपाने, ३० वर्षदेखि निरन्तर साइकल सवार हेटौंडा–६ रामनगर निवासी स्कुल अफ मेनेजमेन्टमा कार्यरत आइतमान मुक्तान, सिटि कलेज हेटौंडामा कार्यरत १४ वर्षदेखि साइकल सवार हेटौंडा–६, निवासी रामप्रसाद पोख्रेललाई सम्मान गरेको छ ।
त्यसैगरी सिटि कलेजका सिक्षक सिन्धुपालचोक चौतारा निवासी निरन्तर साइकल सवार लक्ष्मण तामाङ, रिलायनस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्यापनरत हेटौंडा–५, पिप्ले निवासी दीक्षान्त सुवेदी र १४ वर्षदेखि साइकल सवार हेटौंडा–४, निवासी मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतमलाई सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता एवम् साइकल संस्कृति समुदाय नेपालका अध्यक्ष डा.तारालाल श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कोरा साइकलिङमा बाराको निजगढ, सिमरा र रौतहटबाट दुईसय भन्दा बढी साइकलयात्री सहभागी भएका थिए ।