‘आदिकविको साहित्यिक मार्गले पहिचानको संरक्षण गरेको छ’

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले आदिकवि भानुभक्त आचार्यले देखाएको साहित्यिक मार्गले पहिचानको संरक्षण र संवद्र्धन गर्न प्रेरणा दिएको बताएका छन् ।२ सय १२ औँ भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आदिकवि आचार्यलाई साहित्यिक महानायकको रुपमा चित्रण गरेका छन् । ‘भानुभक्तले देखाएको साहित्यिक मार्गले हामीलाई आफ्नो पहिचानको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा दिएको छ’ उनले भने, ‘काव्यमा रहेको सरलता र राष्ट्रिय आत्मसम्मान आज पनि उत्तिकै सान्दर्भिक छ । यस अवसरले आफ्नो गौरवपूर्ण भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मान र कर्तव्य स्मरण गराउँछ ।
त्यतिमात्र होइन भानुभक्त आचार्यको घाँसीसँगको जम्काभेट जीवनको खुसी र सत्मार्गको प्रेरक प्रसंगसँग जोडिएको छ । यसमा लोक कल्याणकारी मार्ग अपनाउने गहन सन्देश प्रवाह भएको छ ।’प्रदेशप्रमुख देवकोटाले सबैमा एकताको भावना थप प्रगाढ बनाई, नयाँपुस्तामा साहित्यिक चेतना भरेर सिर्जनशीलताको नयाँ युगको प्रारम्भ गराओस् भन्ने कामना व्यक्त गरेका छन् । ‘भानुभक्तले देखाएको मार्गमा हामी सबै अघि बढी नेपाली भाषा र साहित्यलाई माया र सम्मान गर्न सकौं, अन्तर्राष्ट्रियजगतमा नेपाली साहित्यलाई अझ उजागर गर्न सकौं भन्ने आशा व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन् ।
वि.सं. १८७१ साल असार २९ गते अर्थात् आजकै दिन तनहुँ जिल्लाको चुंदीरम्घामा जन्मनुभएका नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गरी जनजिब्रोमा मिसाउनु भएको ऐतिहासिक योगदान सबैका लागि गर्वको विषय भएको प्रदेशप्रमुख देवकोटाले उल्लेख गरेका छन् ।वाल्मिकि रचित संस्कृतको रामायणलाई सरल र मिठासपूर्ण नेपाली भाषामा अनुवाद गरी गाउँघरसम्म पु¥याउनु भएको स्मरण गर्दै नेपाली भाषाका साथसाथै सांस्कृतिक चेतना पनि उजागर भएको बताएका छन् । ‘हाम्रा गाउँघर रामायणका श्लोकवाचनले गुञ्जायमान हुन्थे । प्रायः सबैजसोका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो र आज पनि छ’ प्रदेशप्रमुख देवकोटाले सन्देशमार्फत् भनेका छन् ।