आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नवनिर्मित भवन उद्घाटन

हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आयुर्वेदलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नवनिर्मित साढे २ तले भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले आयुर्वेद सेवाको विकासको लागि प्रदेशका विभिन्न ठाउँमा भवनहरु बनाउने र सेवालाई व्यवस्थित गर्न प्रदेश सरकारले काम गरिरहेको बताए । ७ वटै प्रदेशमध्ये सबैभन्दा व्यवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा बागमती प्रदेशमा रहेको उनको भनाई छ । चितवन र नुवाकोटमा आयुर्वेदको अन्तरंग सेवा भइसकेको जानकारी दिँदै मन्त्री थापाले मकवानपुरमा पनि अन्तरंग सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
उनले आयुर्वेद स्वास्थ्यलाई पनि प्रभावकारी ढंगले सञ्चालनमा ल्याउनका लागि बजेट थप गरिएको बताए । भौतिक संरचना विस्तारै सुविधायुक्त हुँदै जानु र सरकारको लगानी आयुर्वेद उपचारविधिमा बढोत्तरी हुँदै जाँदा नागरिकको आयुर्वेद पद्धतिप्रति विश्वसनीयता बढ्ने उनले बताए । मन्त्री थापाले नेपालमा आयुर्वेद औषधिउपचारको लामो इतिहास रहेको बताए । स्वदेशमै रहेका जडिबुटीलाई आयुर्वेदिक औषधि उत्पादनमा प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री थापाका अनुसार मन्त्रालयले अहिलेसम्म १० प्रकारको औषधि उत्पादन केन्द्र स्थापना गरेर औषधिको उत्पादन थालिसकेको छ ।
थप ११ प्रकारको औषधि उत्पादन केन्द्र स्थापना गर्नको लागि प्रदेश सरकारले बजेटको विनियोजन गरेको उनले बताए । असोज महिनासम्म सरकारले निःशुल्क दिँदै आएको २३ प्रकारको आयुर्वेदिक औषधिमध्ये प्रदेश सरकारले २१ प्रकारको औषधि वितरण गर्ने गरी काम अगाडि बढाउने मन्त्री थापाले बताए । प्रदेश राजधानी हेटौंडालाई स्वास्थ्य क्षेत्रको हब बनाउनु सरकारको प्रमुख उद्देश्य भएको उनको भनाई छ । विगतमा जिल्ला अस्पतालको रुपमा रहेको हेटौंडा अस्पताल अहिले प्रदेशको मातहातमा आएपछि उल्लेख्य सुधार भएको उनले दाबी गरे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत अस्पताल आएपछि ३ सय शैयाको सेवासहित विशेषज्ञ चिकित्सकबाट सेवाप्रदान भइरहेको उनले बताए । निकट भविष्यमै हेटौंडा अस्पतालमा ५ सय बेडको सेवा सञ्चालन हुने उनले जानकारी दिए ।
मन्त्री थापाले पछिल्लो समय एन्टीबायोटिक औषधिको कारण साइडइफेक्ट देखापरेको बताए । देशमै भएका जडिबुटीबाट उत्पादन भएको औषधि सेवनबाट धैरै दीर्घरोगीको स्वास्थ्यमा सुधार आएको उनले उल्लेख गरे । बागमती प्रदेश सरकारको ७ करोड ५३ लाख ८२ हजार ५ सय १३ रुपैयाँ (मूल्य अभिबृद्धि करसमेत) को लगानीमा निर्माण भएको भवन साढे २ तल्ला रहेको छ । ३० वटा साना गाडी र ५० वटा मोटरसाइकल राख्न सकिने अन्डरग्राउण्ड पार्किङ समेत भएको चिकित्सालयमा कार्यक्रम हलसहित १५ भन्दा बढी सुविधा सम्पन्न कोठाहरु रहेको व्यवस्थापन तथा सन्चालन समितिका अध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।
२०७९ फागुन २८ मा सम्झौता भइ युरिका पिण्डेश्वरी जेभीले २०८१ फागुन ३० मा निर्माण सम्पन्न गरी समितिलाई जिम्मा लगाएको हो । २०२८ सालमा बीरगंजको रानीगंजमा नारायणी अञ्चल आयुर्वेद औषद्यालयको नाममा स्बाथापना भइ २०३८ सालमा मकवानपुरको हेटौंडामा स्थानान्तरण भइ सन्चालनमा आएकोमा २०७८ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरको रुपमा नाम परिवर्तन भइ सन्चालन भैरहेको थियो ।
२०८० पुषमा बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णयले १६ शैयाको आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको रुपमा सन्चालन हुँदै आइरहेको छ । यसचिकित्सालयका ओपीडी सेवा, निशुल्क आयुर्वेद औषधि वितरण, फिजियोथेरापीलगायत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत् सेवा दिइरहेको चिकित्सालयकी प्रमुख डाक्टर ललिता पाण्डेले जानकारी दिइन् । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम
श्रेष्ठ लगायतले मन्तब्य व्यक्तगरेका थिए ।