बालिका बलात्कार आरोपमा बालगृहका प्रमुख पक्राउ
हेटौंडा-मकवानपुरको विकटक्षेत्र कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रमुख अधिकृत पक्राउ परेका छन् । सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश–३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा बालगृहका प्रमुख ४८ वर्षीय मधुसुदन राउतलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
राउतलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी मकवानपुर ल्याइएको उनले बताए । राउतलाई आइतबार म्याद थपका लागि मकवानपुर जिल्ला अदालतमा लगिएको छ । किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध ८ असारमा जाहेरी दर्ता गरेकी थिइन् । प्रहरीप्रवक्ता अर्यालका अनुसार राउतले बालिकालाई जेठ १ गतेदेखि २८ गतेसम्म पटकपटक बलात्कार गरेको जाहेरी परेको छ । पीडित बालिकाको बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि बालगृहमा आश्रय लिएर बस्दै आएकी थिइन् ।







