बाइरोडबाट फलामे बार गायब, चोरी भएको आशंका

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:४९

हेटौंडा- हेटौंडा काठमाडौं जोड्ने त्रिभूवन राजपथ (बाइरोड) अन्र्तगत सीमभज्ञ्याङ–पालुङ सडक खण्डको सडक किनारमा राखिएको फलामे बार चोरी भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाका निमित्त डिभिजनप्रमुख बिष्णुप्रसाद लामिछानेका अनुसार सीमभज्ञ्याङ पालुङ खण्डको सडक किनारमा राखिएको करिब ४० हजार मूल्य बराबरको फलामे बार चोरी भएको हो । ‘६÷७ महिना अघि फलामे बार जडान गर्ने क्रममै चोरी भएको थियो, कार्यसम्पन्न हस्तान्तरण नहुँदा निर्माण कम्पनीले नै ब्यहोर्यो,’ लामिछानेले भने, ‘त्यसपछि हामीले सूचना पनि जारी ग¥यौँ, चोरी रोकिएको थियो, फेरि चोरी भएको छ ।’

‘पछिल्लो समय थोरैथोरै मात्रामा दिनदिनै चोरी भइरहेको छ । स्थानीय तहदेखि प्रहरी प्रशासनलाई पत्राचार गरिसकेका छौँ । कसले चोर्यो, चोरी गर्ने ब्यक्ति पत्ता लागेको छैन,’ लामिछानेले भने । चोरीमा संलग्न ब्यक्तिको खोजी कार्य र फलामे बार सुरक्षाको लागि इलाका प्रहरी कार्यालय पालुङ, थाहा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरिएको लामिछानेले बताए ।

यो सडक निर्माण भएको करिब ८० बर्ष भन्दा बढी भयो । विं.सं. २०१० मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडा महारानी कान्तिराज्यलक्ष्मीदेवीले थानकोटमा शिलान्यास गरेकी थिइन् । राजमार्ग निर्माणकार्यले २०१३ सालदेखि तीब्रता पाएको थियो । विं.सं.२०१६ सालमा पूर्णरुपमा संचालनमा आएको यो राजपथ नेपालको सबैभन्दा जेठो मानिन्छ ।

अत्यन्त बढी घुम्ती सडक भएको यो राजपथ त्यति सहज मानिदैन । सडक डिभिजन हेटौंडाले सवारी र यात्रुको सडकयात्रालाई सुरक्षित बनाउनका लागि करिब ४ करोड रुपैयाँको लागतमा हेटौंडादेखि पालुङसम्मको सडकको किनारामा फलामे बार राखेको थियो । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित त्रिभुवन राजपथ भैंसेदोभानदेखि थानकोटसम्म ७२ माइल लम्बाइ रहेको छ । दुरीको हिसाबले हेटौंडाबाट काठमाडौं जान लामो दुरी भएपनि यो सडक १२ महिना सञ्चालनमा रहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*