नापी कार्यालय हेटौंडामा मन्त्री श्रेष्ठको निरीक्षण

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:५४

हेटौंडा- बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नापी कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले नापी कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले नापी कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले नापी कार्यालयका प्रमुख नापीअधिकृत खिमबहादुर रानालगायत नापी कार्यालयमा कार्यरत कर्मचारीलाई नागरिकलाई दिइने सेवामा कुनै कसर बाँकी नराखी सेवाप्रदान गर्न निर्देशन दिएका हुन् ।

विशेषगरी नापी कार्यालयमा सुशासनको काम नभएको जनगुनासा आउने गरेको हुँदा त्यस कुराको अन्त्य हुने गरी कामगर्न मन्त्री श्रेष्ठले सुझाएका हुन् । त्यस्तै, आगामी दिनमा कार्यालयलाई डिजिटल प्रविधितर्फ लैजान, जनताको समस्या समाधानमा ध्यान दिन आग्रह गर्दै नापी कार्यालयको आवश्यकता र मागलाई आगामी आर्थिक वर्षमा सम्बोधन गरीने प्रतिबद्धता समेत व्यक्त गरे ।

मालपोत र नापी कार्यालय हेटौंडालाई बागमती प्रदेशकै नमूना कार्यालयको रुपमा विकास गर्ने योजना रहेको मन्त्री श्रेष्ठको भनाई थियो । निरीक्षणको क्रममा नापीप्रमुख रानाले हाल कार्यालयमा भए गरेका गतिविधि, भौतिक तथा कार्यालयको विविध विषयमा मन्त्री श्रेष्ठलाई जानकारी दिएका थिए । साथै, कार्यालयका लागि संघीय सरकारबाट बजेटको व्यवस्था नहुने भएको हुँदा आगामी ०८१÷८२ को बजेटमा बागमती प्रदेश सरकारलाई आवश्यक बजेटको ब्यवस्था गरिदिन आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*