कृष्ण आदर्शमा विद्यालय स्वास्थ्य र पोषण सप्ताह
हेटौंडा-हेटौंडा–९ मा रहेको कृष्णआदर्श इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल (कसेस) ले विद्यार्थीको शैक्षिक विकासमा स्वास्थ्य र पोषणबारे सचेतना जगाउने उद्धेश्यले विद्यालयस्वास्थ्य र पोषण कार्यक्रम सुरु गरेको छ ।विद्यालय जाने उमेरका बालबालिकाको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने उद्धेश्यका साथ विद्यालयले जेठ १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो । एक सातासम्म विद्यालयमा सरसफाई, विद्यार्थीको स्वास्थ्य जाँच, ओैषधि वितरण, पोषण र स्वास्थ्यबारे सचेतनालगायत कार्यक्रम गरिने विद्यालयका सञ्चालक नवीन केसीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम जेठ ७ गतेसम्म चल्नेछ । साताव्यापी कार्यक्रमअन्तरगत पहिलोदिन कक्षा सरसफाई, व्यक्तिगत सरसफाई गरिएको थियो । त्यस्तै दोस्रो दिन बुधबार किशोर अवस्थामा पोषणको महत्वबारे अभिमूखीकरण गरिएको हो । बिहीबार जुकाको औषधि वितरण गर्ने साथै हातधुने तरिकाबारे सिकाइनेछ । विद्यार्थीको उचाई र तौलमापन गर्ने, पोषणको महत्वबारे वडा क्लिनिकबाट सहजकर्ता बोलाई अभिमूखीकरण, पोषण र स्वास्थ्यबारे हाजिरीजवाफ र निबन्ध प्रतियोगिता जस्ता रचनात्मक कार्यक्रम राखिएको सञ्चालक केसीले बताए ।
सरकारले हरेकवर्ष जेठ १ देखि ७ गतेसम्म विद्यालयस्वास्थ्य र पोषण सप्ताह मनाउने कार्यक्रम तय गरेकोमा कृष्णआदर्शले यस वर्षदेखि वार्षिक क्यालेन्डरमै राखेर सप्ताहव्यापी कार्यक्रम गर्न सुरु गरेको जनाइएको छ । कार्यक्रम सफल बनाउन विद्यालयले विद्यार्थीबाट छनोट गरी ११ सदस्यीय हेल्थ क्लवसमेत गठन गरेको छ ।







