रुप्सेली किसानले पालेको २१ बाख्रा मरे
हेटौंडा- मकवानपुर थाहा नगरपालिका–४ रुप्सेका २१ वटा बाख्राको कुडो खाएपछि मरेका छन् । थिङटोलका अमृत थिङले पालेको १७ र दुधमाया थिङले पालेको ४ वटा बाख्रा मरेको थाहा नगरपालिका पशु प्राविधिक रुपेशकुमार मिश्रले जानकारी दिए ।किसान थिङका अनुसार जेठ १ गते साबिकबमोजिम बाख्रा चरेर आएपछि आगनमा राखेको पानी खाएपछि बाख्राहरु एकाएक छटपटाएर मरेका हुन् । पानीमा विष या रासायनिक मल परेको हुनसक्ने पशु प्राविधिक मिश्रले अनुमान गरे । मरेका बाख्रामध्ये एउटा नमुनासहित पोष्टमार्टमका लागि केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको छ ।
अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रासहित, २ वटा खसी, ३ वटा बोका, ४ वटा पाठापाठी र छिमेकी दुधमाया थिङको माउबाख्रा २ वटा र पाठापाठी २ वटा सहित २१ वटा बाख्रा मरेको हो । पीडित किसानको ५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।‘४ वटा माउबाख्रा त आज–भोलि नै ब्याउने थियो’– कृषक अमृतले भने । १ जेठ दिउँसो ३ बजेको समयमा घटना भएपछि ईलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







