मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण

साझाकुरा
२०८१ जेष्ठ ४, शुक्रबार १०:४९

हेटौंडा-मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी फाउन्डेसनले बनाएको घर विहीबार हस्तान्तरण गरिएको छ ।नेपाली कांग्रेस बागमती प्रदेशसभापति एवम् वागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गरे ।

तालाचावी दिएर घर हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य बानियाँले फाउण्डेसनले मनहरी गाउँपालिकाको समन्वयमा अतिविपन्न चेपाङ समुदायका एकल महिलालाई घर बनाईदिएर अनुकरणीय कार्य गरेको बताउँदै आउँदा दिनहरुमा पनि मकवानपुरका विकट क्षेत्रमा विपन्न परिवारलाई घर बनाएर सहयोग गर्न आग्रह गरे ।टुकी फाउन्डेसनले मनहरी गाउँपालिका–४ नयाँबस्ती, ६ को प्रतापपुर र नयाँवस्ती, मनहरी–८ सिम्पानीका एकल महिला सानुमाया प्रजा, सविता प्रजा, प्रविना प्रजा र जातिमाया प्रजालाई सुरक्षित आवास बनाएर हस्तान्तरण गरेको हो ।

फाउण्डेसनले प्रत्येक एकल महिलालाई करिब ८ लाख बराबरको सुरक्षित घर, शौचालय र ३० हजार बराबरको बाख्रा र गोठ निर्माण गरिदिएको फाउण्डेसनकी अध्यक्ष सावित्री रजालीले बताइन् ।कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेसका महासमिति सदस्यहरु राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनी, मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, ८ का वडाअध्यक्ष नारायण उप्रेती, कार्यपालिका सदस्य मीरा खत्री, समाजसेवीहरु सीताराम बर्तौला, विदुर थापा, भीमसेन लामा, लक्ष्मण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*