मकवानपुरको लेनडाँडा सुरुङ छिचोलियो
हेटौंडा- काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा पर्ने लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको (ब्रेक थ्रु गरिएको) हो ।त्यस्तै असारभित्र लेनडाँडा र धेद्रे सुरुङ छिचोल्ने तयारी रहेको सैनिक प्रवक्ता एवम् सहायकरथी गौरवकुमार केसीले बताए ।
उनका अनुसार धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ५०६ मिटर खनी सकिएको छ । अब १ सय २४ मिटर मात्र खन्न बाँकी छ । त्यस्तै महादेवटार सुरुङको ३ हजार ३५५ मिटरमध्ये २ हजार १५८ मिटर खनीसकेको छ ।
सबैभन्दा लामो रहेको यो सुरुङ अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ । २ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देवीचौर र ३ सय ९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा रहेको सैनिक प्रवक्ता केसीले बताए । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा नेपाली सेनालाई दिएकोहो । २०८१ मंसिरभित्र निर्माणको काम सक्किनुपर्ने थियो । तर,यो अवधीमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ ।
७१ किमिमध्ये ६४ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन । यसैले गर्दा यो खण्डको ६.५ किमि क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन । यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति करिव ३४ प्रतिशत छ ।







