मकवानपुरमा कार दुर्घटनाः दुईजनाको मृत्यु
हेटौंडा- ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको तीनजना सवार कार कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।हेटौंडा अस्पतालमा रौतहट मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विपेक साह र मकवानपुरको बकैया गाउँपालिका–१२ घर भएका ६५ वर्षीय प्रेमबहादुर ब्लोनलाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनीहरुको टाउको र शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।
६५ वर्षीय प्रेम गाडी चढेको थोरै समयमा दुर्घटनामा परेको आफन्तहरुले बताएका छन् । घरबाट खुवा बेच्न ठिंगनतर्फ आउन कार चढेका उनले खुवा गन्तव्यमा पु¥याउनै नपाएका हुन् । प्रहरीले दिएको जानकारी अनुसार, अर्का मृतक साह र घाइते साह काठमाडौंमा आफन्तलाई वैदेशिक रोजगारीका लागि बिदाइ गरेर फर्किएका थिए । खुवा पु¥याएर घर फर्कने सोच बनाएका ब्लोन, आफन्तलाई विदेश उडाएर घर फर्किरहेका साह ठिंगनबजार कट्न पाएनन् ।
यसैगरी, बारा निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दिप साहको अचेत अवस्थामै हेटौंडा–१, स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको डिएसपी भण्डारीले जनाए । कार चालकसमेत रहेका सन्तोषको अवस्था गम्भीर रहेको उनले बताएका छन् ।मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै चौताराबाट बिहान ७ः३० बजे करिब ५ सय मिटर तल खोल्सामा ग ३ च ९४७५ नम्बरको कार खसेर दुर्घटना भएको थियो । कारमा सवार तीनजनालाई अचेत अवस्थामा उद्दार गरिएको थियो । यसैगरी कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ कालोपहिरोमा शनिबार मोटरसाइकल पोलमा ठोक्किएर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक बारा निजगढ नगरपालिका–६ लिचिटोल बस्ने ३१ बर्षीय रामबहादुर रायक्षेत्री र सोही स्थान बस्ने ३१ बर्षीय हरिकृष्ण अधिकारी रहेका छन् । हेटौंडाबाट ललितपुरतर्फ जाँदै गरेको बा ९० प ५५४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आफैं अनियन्त्रित भएर सडकको छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर सडकबाट करिब ३० मिटर तल खसेरको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबैजना घाईतेको उद्दार गरी उपचारको लागि ठिंगन स्वास्थ्यचौकीमा ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।







