सेवा सुविधाबापतको रकम उपचारमा सहयोग
हेटौंडा-मनहरी गाउँपालिका–८ का चन्द्रबहादुर बोटे एक साताको उपचारपछि घर फर्केका छन् । गत विहिबार सडकमा पैदलयात्रा गरिरहेका बोटेलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।ठक्कर दिएको मोटरसाइकल फरार भयो । उनलाई तत्काल एम्बुलेन्समा राखेर गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अस्पताल पठाए । उनको निधार र ढाडमा गम्भीर चोट लागेका कारण आकस्मिक सेवाका लागि भरतपुरको एभरेस्ट अस्पताल पु¥याइयो । टाउकोको शल्यक्रिया र अन्य उपचार गर्दा करीब १ लाख ३३ हजारको रसिद अस्पतालले थमायो । बोटे आर्थिकरुपले विपन्न छन् ।
राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट गुजारा टार्दै आएका उनीहरुको थप आर्थिक जोहो राप्तीखोलामा माछा मार्दै विक्री गर्छन् । घरको मुख्य जिम्मेवार व्यक्ति नै घाइते भएर अस्पतालमा लडिरहँदा घरमा छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको त्यो रसिदले बोटे परिवारलाई समस्यामा पार्याे । आम्दानी स्रोत नै नभएपछि कसले ऋण पत्याउनु र अस्पतालको बिल भुक्तानी गर्नु ?
अस्पतालले बिल भुक्तानी नगरी डिस्चार्ज गर्न नमानेपछि मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले उनको उपचारमा लागेको खर्च व्यहोरेर उनलाई घरसम्म पु¥याइदिए । अध्यक्ष कालाखेतीले निर्वाचित भएदेखि नै आफूले पाउने सेवासुविधाबापतको रकम कोष बनाएर बचत गर्दै आएका छन् । उनले मासिकरुपमा प्राप्त गर्ने रकम र अन्य स–साना बैठकबाट प्राप्त हुने भत्तालाई सोही कोषमा जम्मा गरी आवश्यकता अनुसार विपन्न नागरिकको सेवा गर्दै आएको उनले बताए ।
उनले सोही कोषबाट ७० हजार र गाउँपालिकाबाट ५० हजार थप गरेर अस्पतालको रकम चुक्ता गरीदिएको बताए । अध्यक्ष कालाखेतीले अस्पताल प्रशासनलाई पनि बोटे समुदायको अवस्थाबारे जानकारी गराएपछि १० प्रतिशत छुट प्राप्त भएको थियो । ‘जनप्रतिनिधि भएको हिसाबले म उहाँहरुको अभिभावक हुँ यो मेरो जिम्मेवारी मैले पूरा गरें,’ कालाखेतीले भने ।







