उपमहानगरले दरबन्दी भन्दा बढी कर्मचारी फिर्ता गर्ने
हेटौंडा-मति हेटौंडा उपमहानगरपालिकाले आवश्यक दर्वन्दी भन्दा बाहेकका कर्मचारी फिर्ता गर्ने निर्णय गरेको छ । स्वीकृत संगठन संरचना तथा तेरिज दर्वन्दी बाहेकका कार्यालयलाई आवश्यक नरहेको भन्दै फिर्ता पठाउने निर्णय गरेको हो ।तेरिज दर्वन्दी भन्दा बढी कर्मचारी आवश्यक नरहेको भन्दै ४४ औं कार्यपालिका बैठकले स्थायी दर्वन्दीका कर्मचारी फिर्ता पठाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्लाई पत्राचार गर्ने निर्णय गरेको हो । तेरिज दर्वनदी भन्दा बढी कर्मचारी सम्बन्धित निकायमा फिर्ता पठाउने निर्णय भएको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।
त्यस्तै कार्यपालिका बैठकले हेटौंडा–३ बसामाडीस्थित प्रस्ताबित नेपाल आई प्रोग्राम, द फ्रेण्ड हेलोज ईन्ट्राअकुलर लेन्स ल्यावरोटरी स्थापना कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन स्वीकृत गर्ने निर्णय गरेको छ । साबिक बसामाडी गाविसस्थित नबीन रिरोलिङ ईण्डस्ट्रीज रहेको स्थानमा लेन्स ल्यावरोटरी स्थापना गर्ने तयारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रबिभक्त श्रेष्ठको लगानी रहेको रिरोलिङ कम्पनी दुईदसक बढीदेखि बन्द रहेको थियो ।
त्यस्तै, हेटौंडा–१६ स्थित आकाशधारा सडकको स्तरीकरण गर्नका लागि गरिएको वातावरणीय परीक्षण प्रतिबेदन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । नगरसभाको १५ औं अधिवेशन आगामी असार २ गते आब्हान गर्ने पनि निर्णय भएको छ । नगरको बिपद् ब्यवस्थापन कोष संचालन कार्यबिधि २०७९ को पहिलो संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।







