बागमतीमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

साझाकुरा
२०८१ जेष्ठ ७, सोमबार ०९:५९

हेटौंडा-बागमती प्रदेशसभाको आइतवारको बैठकमा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो । बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा भाग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए । उनीहरुले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बृद्धिको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

प्रदेशसभा सदस्यले दीर्घकालीनरुपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातिको स्वास्थ्यउपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिए । यसैगरी, सवारीचालक अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउन, प्रविधिको प्रयोग गरी राजस्व संकलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउन उनीहरुले आग्रह गरे ।

यस्तै, काठमाडौं उपत्यकाको फोहरलाई नुवाकोटको बञ्चरेडाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उनीहरुले चिन्ता व्यक्त गरे । बैठकमा प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटा, लक्ष्मी घिमिरे, बसन्तमान मानन्धर, रामप्रसाद ढुंगाना, इन्द्र सापकोटा, राजु विष्ट, प्रभात तामाङ, इन्द्रप्रसाद गोतामे, मधुकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, डम्बर तामाङ, रमेशकुमार महत, देवेन्द्र श्रेष्ठ, रामकुमार पहाडी, हरिशप्रसाद सापकोटा, आशा लामा, भुवन केशरी श्रेष्ठ, सूर्यचन्द्र लामिछाने, इन्द्र चौलागाईं, कन्चनबादे श्रेष्ठ, तीर्थ लामा, मायादेवी शर्मा, राजेन्द्र प्रजापति र सुष्मा भुजेल न्यौपाने लगायतले सुझाव प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*