स्थापना दिवसमा सफलउद्यमी सदस्य सम्मान
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ अवस्थित महिलाकल्याण बचत तथा ऋण सहकारी संस्थाको २५ औँ स्थापना दिवसमा सफलउद्यमी सदस्य सम्मान गरेको छ । आइतबार दिवस मनाउँदै चारजना सफलउद्यमी सदस्य सम्मान गरिएको हो ।संस्थाका अध्यक्ष पार्वती फुँयालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सफलउद्यमी सदस्य लक्ष्मी सापकोटा, कमला ढुंगाना, देवकी फुँयाल न्यौपाने, लक्ष्मी अधिकारीलाई सम्मान गरिएको हो । उनीहरुले व्यावसायिक कृषि तथा पशुपालन गर्दै आइरहेका छन् ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सचिव वीरेन्द्रप्रसाद ढुंगाना, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख विदुर खडका, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका निवर्तमान अध्यक्ष देवकी चौलागाई, लेखासमिति संयोजक सुलोचना स्याङ्तान, जनहित स्वावलम्बन साकोसका व्यवस्थापक दीर्घबहादुर थापालगायतको आतिथ्यता थियो ।
सहकारीले बैशाख मसान्तसम्ममा ११ करोड १७ लाख ८९ हजार ६८४ को कारोबार गरेको संस्थाका व्यवस्थापक मेनुकाकुमारी न्यौपाने बताइन् । संस्थाको शेयरपुँजी १ करोड १९ लाख ८० हजार ८ सय रहेको छ । स्थापना दिवसको अवसरमा सहकारीले ३ गते मकवानपुरगढी–५ मा रहेको उज्ज्वल प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरेको थियो ।सहकारीलाई योगदान गर्ने ७ जना अशक्त शेयर सदस्यलाई घरमै भेटघाट कार्यक्रम गरिएको संस्थाका सचिव सरिता ढुंगानाले बताइन् । कार्यक्रममा सम्मानित तर्फबाट देवकी फुँयाल न्यौपाने र संस्थाका कोषाध्यक्ष सरिता चौलागाइले भनाइ राखेकी थिइन् ।







