मकवानपुरसहितका ३ जिल्लामा पूर्वाधार कार्यालय खोल्ने निर्णय

हेटौंडा- बागमती सरकारले मकवानपुरसहित प्रदेशका ३ जिल्लामा पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको ३ जिल्लामा कार्यालय सञ्चालन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयको संक्षिप्त दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार मन्त्रालयको दरबन्दी थप हुने गरी मकवानपुर, दोलखा र रसुवामा पूर्वाधार विकास कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि ८ जिल्लामा कार्यालय राखेर काम गर्दै आएको मन्त्रालयले उपत्यकामा एकसहित ११ वटा पूर्वाधार विकास कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले पूर्वाधार विकास कार्यालय मकवानपुरका लागि १५, पूर्वाधार विकास कार्यालय दोलखामा १२ र पूर्वाधार विकास कार्यालय रसुवामा ८ जनाको दरबन्दी कायम गरी सेवाप्रवाह गर्ने तयारी गरेको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठका अनुसार यसअघि पूर्वाधार विकास कार्यालय चितवनले मकवानपुर, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखा र पूर्वाधार विकास कार्यालय नुवाकोटले रसुवामा भएका काम हेर्दै आएको थियो ।
मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको संक्षिप्त दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रालयका सचिव राजन पौडेलका अनुसार सामाजिक विकास मन्त्रालयबाट विभाजन गरिएको युवा तथा खेलकुद मन्त्रालयमा आवश्यक कर्मचारी पठाउने निर्णय भएको हो । सामाजिक विकास मन्त्रालयको ३० जनाको दरबन्दीबाट ४ जना घटाएर युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको उनले बताए ।
मन्त्रिपरिषद् बैठकले प्रदेश उच्चशिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकपेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता मन्त्री श्रेष्ठले जानकारी दिए ।