सीमभञ्ज्याङमा १५ लाखमा बुद्धको मूर्ति
हेटौंडा-उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र सीमभञ्ज्याङमा हेटौंडाका एक दम्पत्तिले बुद्धको मूर्ति स्थापना गरेका छन् ।हेटौंडा उपमहानगरपालिका–११ का समाजसेवी सिद्धिलाल श्रेष्ठ र वविता श्रेष्ठले थाहा नगरपालिका–४ सीमभन्ज्याङमा साढे १८ फिट उचाईको वुद्धको मूर्ति स्थापना गरेका हुन् । समुन्द्री सतहबाट २४८८ मिटर उचाईमा रहेको सीमभञ्ज्याङको सानो समथर थुम्कोमा श्रेष्ठ दम्पत्तिले स्थापना गरेको बुद्ध मूर्तिको २५६८ औ वुद्धजयन्तीको अवसरमा थाहा नगरप्रमुख विष्णु विष्टले बिहीवार एक समारोहवीच अनावरण गरेका छन् ।
अनावरण गर्दै मेयर विष्टले पर्यटकीय क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरेर आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षित गर्न योगदान पु¥याएको बताए । स्थापना गरिएको बुद्धको मुर्तिको संरक्षणको जिम्मा स्थानीयवासी र पालिकाले लिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । त्रिभुवन राजपथको सडकछेउको थुम्कोमा निर्माण गरिएको बुद्ध मूर्तिले खास गरी बौद्धमार्गीलाई सीमभञ्ज्याङ क्षेत्रमा आकर्षण गर्ने वडाध्यक्ष विनोद लामाले बताए ।
श्रेष्ठ दम्पत्तिले करिब १५ लाख रुपैयाँको लागतमा मूर्ति निर्माण गरेका हुन् । बुद्ध मूर्तिको अनावरण र प्राण प्रतिष्ठापश्चात स्थानीयबासी पूजाआजा गर्न सहभागी भएका थिए । मकवानपुरगढी–७ का हर्करत्न भुलुनले ६ महिना लगाएर बुद्ध मूर्ति बनाएका हुन् । श्रेष्ठ दम्पत्तिले हेटौंडा उपमहानगरपालिका–११ राप्ती पुल नजिकै बुद्ध मूर्ति स्थापना गरेर आकर्षक बुद्ध पार्क निर्माण गरेका छन् ।







