वनभित्र संरचना निर्माण नगर्न निर्देशन
हेटौंडा- बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले वनभित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिएका छन् ।हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार उद्घाटन गर्दै वनभित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गरेका हुन् । प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउनेगरी मात्रै वनभित्र संरचना बन्नुपर्नेमा मन्त्रीको जोड थियो । संरचना बनाउने नाममा पुरातात्विक महत्वका संरचनालाई मास्नेभन्दा पनि संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश सरकारको मन्त्रीपरिषद्ले गरेको निर्णय स्मरण गर्दै प्रदेशमा बन्ने संरचनामा अब स्वदेशी काठ अनिवार्य गरिएको बताए । उनले नेपालको जंगलमा काठ कुहिएर गइरहेको अवस्थामा विदेशबाट बार्षिक करिव १७ अर्बको काठ आयात भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।वनस्खण्डी मन्दिर पर्यटन विकास समितिको आयोजना एवम् बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आठ लाख ८९ हजार ४५१ रुपैयाँ आर्थिक सहयोगमा व्यायमशाला निर्माण गरिएको हो । व्यायामशालाबाट सबैलाई लाभलिन आग्रह गर्दै मन्त्रीले अब जीवनशैली सुधार गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय अस्वस्थ्यकर खानपानका कारण मानिसले धेरै रोगको सामना गर्नुपरेको बताउँदै प्राकृतिक खानपान अपनाउनुपर्ने उनको भनाइ छ ।
प्रदेशको राजधानी हेटौंडा जोड्ने सडकहरु धमाधम निर्माण भइरहेको बताउँदै अबको एक वर्षभित्र हेटौंडा–काठमाडौंको यात्रा सहज हुने विश्वास व्यक्त गरे । निर्माण व्यवस्थापन समिति अध्यक्ष देवकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला र स्थानीयवासीको सहभागिता रहेको थियो ।







