२ नम्बर वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

साझाकुरा
२०८१ जेष्ठ २०, आईतवार ११:१५

हेटौंडा-हेटौंडा उपमहानगरमा पहिलोपटक ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र सञ्चालनमा आएको हो ।विश्व बुबाआमा दिवसको अवसरमा शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवाकेन्द्रको उद्घाटन गरिन् । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयकोआयोजनामा भएको कार्यक्रममा जलेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको सहयोगमा सेवाकेन्द्रको शुभारम्भ गरिएको हो । सामाजिक विकास मन्त्री मुक्तानले दिवा सेवाकेन्द्रको उद्घाटन गर्दै ज्येष्ठ नागरिकका लागि सेवाकेन्द्र भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने थलो बन्नेमा विश्वास व्यक्त गरिन् ।

उनले बागमती प्रदेश सरकारले नीतिगतरुपमै ज्येष्ठ नागरिकका लागि सहयोग गर्न प्रतिवद्धरहेको बताउँदै दिवा सेवाकेन्द्रका लागि स्वयम्सेवकको पनि व्यवस्था गरिरहेको जानकारी दिइन् । हेटौंडा उपमहानगरउपप्रमुख राजेश बानियाँले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान, सीप युवापुस्ताले ग्रहण गर्नुपर्ने बताए । यसैगरी ज्येष्ठनागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएको हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले बताइन् ।दिवा सेवा केन्द्र उद्घाटनसँगै ज्येष्ठनागरिक सम्मान तथा निमोनियाँविरुद्धको खोप लगाइएको छ । दुईसय जना जेष्ठ नागरिकलाई थर्मस वितरण गरिएको थियो । १०६ वर्षदेखि ८४ वर्ष उमेरका ५४ जना ज्येष्ठ नागरिकलाई पहिलो चरणमा निमोनियाँ विरुद्धको खोप लगाइएको हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनले जानकारी दिए ।

‘पहिलो चरणमा सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन सम्भावना रहेन, आगामी वर्षबाट कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाइने छ’ वडाअध्यक्ष महर्जनले भने । ज्येष्ठनागरिकको स्वास्थपरीक्षणसमेत गरिएको कार्यक्रममा सुगर, प्रेसर र अन्य स्वास्थ्य अवस्थाको जानकारी लिएर मात्रै खोप लगाइएको थियो ।अहिले हेटौंडा उपमहानगरपालिका २ नम्बरमा ६ सय १३ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको वडासचिव रामप्रसाद गुरागाईले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता २ नम्बर वडाबाट प्राप्त गरिरहेका तथा २ नम्बर वडामा स्थायी बसोबास गरिरहेको ज्येष्ठ नागरिकलाई खोप लगाइएको उनले जानकारीदिए । जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ६० वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिकको परिभाषामा समेटेको छ । अन्य व्यबस्था बाहेक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न भने ६८ वर्ष पूरा भएको हुनुपर्ने ब्यबस्था सामाजिक सुरक्षा ऐनले गरेको छ ।

कार्यक्रममा ज्येष्ठनागरिक जिल्ला संघ मकवानपुर अध्यक्ष हरिप्रसाद सिग्देल, ज्येष्ठ नागरिक समाज मकवानपुर अध्यक्ष केदार न्यौपाने, जलेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष मुरारी सुवेदी, वनस्खण्डी देवी सामुदायिक वन समिति अध्यक्ष भवसागर श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडासदस्यहरु इन्द्रप्रसाद रिजाल, मैयाँ परियार, सुरज बर्तौला, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयम्सेवीकालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*