सडकपेटीमा फलामे बारको बिरोध
हेटौंडा- हेटौंडा–१० सीमाचोकबाट टिसिएन रोडतर्फ निस्कने सडकको दायाँबायाँ फलामे बार निर्माण कार्य रोक्न स्थानीय घरधनी तथा व्यावसायीले माग गरेका छन् ।उच्चअदालत पाटन, हेटौंडा इजलासले टीसीएनरोड क्षेत्रमा फलामे बार निर्माणको काम तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको भएपनि वडा कार्यालयले निर्माण कार्यलाई निरन्तरता दिँदा स्थानीय आन्दोलित बनेका छन् । उच्चअदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश मीना गौतम सेडाईँको एकल इजलाशले जेठ २३ गते शुक्रबारसम्म निवदेकको घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ लगाउने कार्य नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेशको अवहेलना गर्दै वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय घरधनीले आइतबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी निर्माणकार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ध्यानाकर्षण गराउँदै गर्दा सडकपेटीमा फलामे बार निर्माण गर्ने कार्य सकिएको वडा कार्यालयले जनाएको छ । गत मंगलबार १० नम्वर वडा कार्यालयले यो सडकको किनारमा फलामे बार राख्ने काम सुरु गरेको थियो । स्थानीयले फलामे बार निर्माण गर्दा घरभित्र छिर्ने बाटो नै अवरुद्ध हुने र पसल व्यावसायमा समेत असर पुग्ने भन्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए । स्थानीय गोपाल श्रेष्ठले दिएको रिट निवेदनमाथि अदालतले २३ गतेसम्म काम नगर्न, नगराउन अल्पकालीन आदेश दिएको थियो ।
कानूनी राज्यमा कानूनको उल्लङ्घन भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उनीहरुले कुनैपनि निर्माण कार्य अघि बढाउँदा स्थानीयको सहमति लिएर मात्रै गर्नुपर्ने माग राखेका छन् । कुनै सूचना, टेन्डर, तथा कोटेशन ननिकाली टिसिएनरोड क्षेत्रको आवश्यकता विपरित बजेट दुरुपयोग गर्ने उद्देश्यका साथ वडा कार्यालयले फलामे बार निर्माण गरेको आरोप स्थानीयले लगाएका छन् । वडा कार्यालयले भने सडक पेटीमा हिड्ने यात्रुको सुरक्षाको लागि फलामे बार निर्माण गरिएको बताउँदै आएको छ । अदालतले काम रोक्न दिएको आदेश वडा कार्यालयमा प्राप्त नभएको बताइएको छ ।







