सामुदायिक वन उपभोक्ता महासंघ थाहाको परिषद् बैठक

साझाकुरा
२०८१ जेष्ठ २२, मंगलवार ११:२०

हेटौंडा- सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय कार्यसमिति थाहानगरको प्रथम परिषद् बैठक १९ जेठमा सम्पन्न भएको छ ।थाहा नगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजक एवम् वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको प्रमुखआतिथ्यता तथा स्थानीय महासंघ अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा बैठक भएको हो । परिषद् बैठकसमक्ष अध्यक्ष श्रेष्ठले स्थानीय महासंघको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम प्रस्ताव गरेका थिए ।

परिषद्ले आगामी वर्षका लागि दर्ता प्रक्रियामा रहेका सामुदायिक वनलाई दर्ताको लागि सहजीकरण गर्ने, नवीकरणको प्रक्रियामा रहेका सामुदायिक वनको नवीकरण गर्ने तथा कार्ययोजनाको अवधि सकिएका सामुदायिक वनको नवीकरणका लागि आवश्यक सहजीकरण गर्ने, सामुदायिक वनमा संरक्षण पोखरीहरु निर्माण गर्न पहल गर्ने, सामुदायिक वनहरुको संस्थागत विकासका लागि कार्यक्रम संचालन गर्ने, सामुदायिक वनमा आयमूलक कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, वन संरक्षणसम्बन्धमा आवश्यक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक वनभित्र खाली ठाउँमा जडिबुटी नमूनाखेती गर्न प्रोत्साहन गर्नुका साथै आवश्यक व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी इको टुरिजमको लागि सम्भावित सामुदायिक वनको पहिचान गरी पर्यटकीय क्षेत्रको विकास गर्ने र स्थानीय वन ऐन संसोधनको लागि पहल गर्ने निर्णय पनि गरेको छ । थाहा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा वन तथा वातावरणको विषयलाई समेट्न स्थानीय महासंघको तर्फबाट आवश्यक सुझाव पेश गर्ने पनि परिषद्ले निर्णय गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखाप्रमुख अनिल लामिछाने, सब डिभिजन वन कार्यालय चित्लाङका प्रमुख श्रीकृष्ण न्यौपाने लगायतले थाहानगरको वन विकासको बारेमा मन्तव्य राख्दै परिषदको सफलताको शुभकामना दिएका थिए । स्थनीय महासंघ सचिवालय सदस्य विनोद केसीले स्वागत मन्तव्य व्यक्त गरेको बैठकमा परिषद सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*