हेटौंडा–पथलैया खण्डमा २ किलोमिटर ‘नमूना सडक’ निर्माण
हेटौंडा- पथलैया–हेटौंडा सडक खण्डको २ किलोमिटरमा परीक्षणको रुपमा ‘नमूना सडक’ निर्माणको काम सुरु भएको छ । करिब ५ करोड लगानीमा नमूना सडक निर्माणको काम भइरहेको हो ।सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशप्रसाद यादवले आधुनिक प्रविधिको प्रयोग गरेर उच्चभारवहन क्षमता भएको सवारी साधन गुड्ने सक्ने नमूना सडक निर्माण गर्न लागिएको बताए । सरकारले तत्कालै पथलैया–भरतपुर करिब एकसय किलोमिटर सडकखण्ड विस्तार गर्न बजेट अभाव भएको कारण देखाउँदै २ किलोमिटर नमूनाको रुपमा निर्माण गर्न लागेको हो । सडक डिभिजन प्रमुख यादवले नयाँ प्रविधिको प्रयोग गरेर विशेष प्रकारको ४० ग्रेडको बिटविन प्रयोग गरिने जनाएका छन् ।
बजेट अभावले २ किलोमिटर मात्रै बनाउन सक्षम भएको र अब यो ट्रायल सफल भएपछि भविष्यमा सडक विस्तार गर्ने योजना रहेको यादवले जनाए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया– हेटौडा सडकखण्डमा अत्यधिक सवारीको चाप हुने गर्दछ । साँघुरो (२ लेन) सडक खण्डमा उच्चसवारीचापका कारण दैनिक साना–ठुला दुर्घटना हुने गर्दछ । पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको यो राष्ट्रिय राजमार्गमा वार्षिक दर्जनौँ वन्यजन्तुले दुर्घटनामा ज्यान गुमाएका छन् ।
चौधरी निर्माण सेवा जनकपुरले सडक निमार्णको जिम्मेवारी लिएको छ । निकट भविष्यमा निमार्ण हुने पथलैयादेखि भरतपुर सडकखण्ड निमार्णको क्रममा भने पर्सा निकुञ्ज क्षेत्रमा ४ किलोमिटरमा वन्यजन्तुका लागि आवातजावत गर्न फ्लाई ओभर बृज निमार्ण हुने जनाइएको छ । त्यसका लागि अहिले माटो परीक्षण भइरहेको छ ।ठेकेदार कम्पनी चौधरी निमार्ण सेवाका मुख्य प्रवन्धक पंकज चौधरीले पेश्की रकम अत्यन्तै कम पाएकोले छिटो काम गर्न समस्या भएको बताएका छन् । १ हजार २७ दशमलव ६७ किलोमिटर लम्बाई रहेको पूर्व–पश्चिम राजमार्ग २०२२ सालमा निमार्ण भएर सञ्चालनमा आएको हो । त्यसयता सामान्य मर्मत सम्भार बाहेक पुनः निर्माणको काम भने भएको छैन ।







