थाहाका खोलामा छोडियो रैथाने असला माछा

साझाकुरा
२०८१ जेष्ठ २४, बिहीबार १३:२७

हेटौंडा-थाहा नगरपालिकाले लोपोन्मुख असला जातको १० हजार माछाका भुरा खोलामा छाडेको छ । विश्व वातावरण दिवसको अवसरमा थाहा नगरपालिकाले माछाको भुरा छोडेको हो ।२४ जेठमा थाहानगरको थानाबजारको पालुङ खोला, शिखरकोटको ऋषेश्वर खोला र घर्तिखोलाको दम्कीको विभिन्न स्थानमा माछाका भुरा छाडिएको नगरको सामाजिक विकास शाखाप्रमुख अनिल लामछानेले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख विष्णुबहादुर विष्ट, वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, सामाजिक विकास शाखाप्रमुख लामिछाने, नेपाली काँग्रेस नगरसभापति प्रमोदकृष्ण जोशी, एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका टोली, नगरप्रहरीको टोलीलगायतको सहभागिता थियो ।

सो अवसरमा नगरप्रमुख बिष्टले पर्यावरण र जैविक विविधताको संरक्षणका खोलामा रैथाने असला माछा छाडिएको प्रतिक्रिया दिए । नगरप्रमुख बिष्टका अनुसार खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरे । खोलामाकरेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसँग परामर्श गरेर अगाडि बढ्ने नगरप्रमुख विष्टको भनाई छ ।करेन्ट र विषादिको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । हाल माछा छोडिएको खोला वरपर कुनै पनि तरीकाबाट दुई वर्षसम्म माछा मार्न बन्देज लगाइएको नगरपालिकाले जनाएको छ । जलचर संरक्षण ऐन अनुसार निषेध गरिएको क्षेत्रमा जलचर मारेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था छ ।

यसैगरी, थाहा नगरपालिकामा विविध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस २०८१ भव्यरुपमा मनाइएको छ । थाहानगरका विभिन्न संघ–संस्था, बजार व्यवस्थापन समिति, टोल विकास संस्था, तथा निजी र संस्थागत विद्यालयले दिवस मनाएका हुन् । थाहा नगरपालिकाको आयोजनामा वडा नम्बर ४ नयाँगाउँको थाहा पार्क परिसरमा कागती, सुन्तला, आलुबखडा, आल्चा, मुन्तलालगायतका फलफूलका बिरुवा रोपिएको छ ।थाहा नगरप्रमुख विष्टको विशेष उपस्थितिमा भएको कार्यक्रममा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत गिरी, नेपाली काँग्रेस थाहानगर सभापति जोशी, एमाले नगरअध्यक्ष प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष जयराम खत्रीलगायत पालिकाका कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*