ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छः मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताएका छन् ।काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुंगामा आयोजना गरिएको जनमुक्तिमार्ग–तालढुंगा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा शुक्रबारबाट सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिदबिक्री केन्द्रको उद्घाटनका अवसरमा उनले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले विगतमा छुटेका तालढुंगा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने जानकारी दिए । डाँडापारिको तालढुंगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने उनको भनाइ छ । संघीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सयभन्दा बढी सडकको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ती सबै आयोजनाको काम निरन्तर अगाडि बढ्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री जम्कट्टेलले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासँग जोडिएको मार्गका रुपमा लिएर काम अगाडि बढाइरहेको बताए । बीपी राजमार्गदेखि महाभारत हुँदै मदनभण्डारी राजमार्ग जोड्ने सडकका रुपमा जनमुक्ति मार्ग निर्माण भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । उनले पूर्वाधार विकासका सबै काम प्रदेश सरकारले जिम्मा लिने भएकाले अब स्थानीय सरकार कृषि उत्पादन र प्राविधिक शिक्षालाई अगाडि बढाउनका लागि योजना बनाउनतर्फ लाग्नुपर्ने धारणा ब्यक्त गरे ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले नागरिकलाई विकासको अनुभव हुनेगरी प्रदेश सरकारले बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए । यहाँका नागरिकको दैनिक जीवनसँग जोड्ने आवश्यक उपभोग्य सामग्रीको व्यवस्थापनदेखि प्रशासनिक कामका लागि बनेपा धुलिखेल जोड्ने सडक सञ्जाल टुट्ने र हेटौंडा जोड्ने बाटो सिक्रेदोभानमा बागमती खोलाले छेक्ने भएपछि समस्या झेल्नुपरेको बताउँदै अब जनमुक्तिमार्ग र खोपासी–तालढुंगा सडकखण्ड पक्की बनेपछि सहजता हुने अपेक्षा व्यक्त गरे ।







