उद्यमी बनाउन सीपमुलक तालिम
हेटौंडा- थाहानगरका २० जना महिलाले आत्मनिर्भरताको लागि सीप सिकेका छन् । उनीहरुलाई थाहा नगरपालिकाले छ दिने प्रयोगात्मक सीपमूलक तालिम दिएको हो ।साना लगानीबाट पनि महिलालाई उद्यमी बनाउने उद्देश्यले महिलालाई साबुन, फिनेल र हर्पिक बनाउने तालिम दिइएको हो । नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको व्यवस्थापन दामन चेली समाजले गरेको थियो । तालिमको २५ जेठमा भएको समापनका समारोहमा थाहा नगरप्रमुख विष्णु विष्टले परम्परागत तालिमभन्दा यसखाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई नगरपालिकाले सहयोग गर्नेछ ।
थाहानगर वडा नम्बर–३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए । तालिममा हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम प्रशिक्षक राधिका चौलागाईंले प्रशिक्षण दिएकी थिइन् । २० जेठबाट सुरु भएको तालिममा नगरका २० जना महिलाले सहभागिता जनाएका थिए । दामन चेली समाजको आयोजनामा भएको तालिमलाई थाहा नगरपालिकाको महिला तथा बालबालिका शाखाले सहयोग गरेको थियो ।
तालिममा सहभागी महिलाले बनाएका साबुन, हार्पिक र फिनेलको पनि समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका सचिव शकुन्तला गोपालीले संचालन गरिन् भने उपाध्यक्ष राममाया खत्रीले स्वागत गरेकी थिइन् । कार्यक्रममा सहभागीले उत्पादन गरेको सामानलाई नगरपालिकाले बजारीकरणको लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।