प्राधिकरणलाई विद्युत स्वामित्व हस्तान्तरण

साझाकुरा
२०८१ जेष्ठ २८, सोमबार ११:१३

हेटौंडा-उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सामुदायिकस्तरबाट वितरण गरिएको विद्युतको स्वामित्व हस्तान्तरण गरिएको छ । थाहा–७ स्थित, जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भइरहेको विद्युतको स्वामित्व नेपाल विद्युत प्राधिकरण पालुङ वितरणकेन्द्रलाई हस्तान्तरण गरिएको हो ।२०७४ सालमा स्थापना भएको सामुदायिक संस्थाले थाहाको महादेवखर्क, छापक्षेत्रमा एकसय १३ घरधुरीमा संस्था मार्फत् विद्युतिकरण भएको थियो ।

संस्थाले एक कार्यक्रमको आयोजना गरेर विद्युत संरचना र स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।थाहा नगरपालिका प्रमुख विष्णु विष्ट ‘आदर्श’ले हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिका सहित उत्तरी मकवानपुरमा दिगो र भरपर्दो विद्युतसेवा दिन पालुङ वितरणकेन्द्रले धादिङ, ललितपुरबाट विजुलीको स्रोत जोडिसकेको र हेटौंडा तथा कीर्तिपुरबाट पनि जोड्ने प्रयास भइरहेको बताए । यस कार्यले नगरमा दिगो विजुली प्रवाह हुने विश्वास नगरप्रमुख बिष्टले व्यक्त गरे ।

पालुङ वितरण केन्द्रप्रमुख माधव न्यौपानेले विद्युतसेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भई रहेको जानकारी दिए । तत्कालीन अवस्थाको आवश्यकता अनुसार सामुदायिक संस्थामार्फत् विद्युतसेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको र अब सेवा तथा सुधार प्राधिकरणले गर्ने बताए ।

कार्यक्रममा थाहा नगरपालिका पूर्वप्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारको लागि तत्कालीन आवश्यकता सामुदायिक विद्युतिरण नै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराए । कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयास गर्नुभएको भन्दै पालुङ वितरण केन्द्रप्रमुख न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ ।
थाहा नगरप्रमुख विष्टले प्रमुख न्यौपानेलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । सामुदायिक संस्थाबाट वितरण भइरहेको विद्युत सुधारको प्रतिवद्धता र सामुदायिक संस्थाबाट स्वामित्व हस्तान्तरणमा प्रमुख न्यौपानेले निरन्तर गरेको अविभावकत्व र सकारात्मक प्रयासको प्रशंसा गर्दै सम्मान गरिएको सामुदायिक संस्थाका अध्यक्ष सोनामसिंह मुक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*