हेटौंडाको सडक विस्तारले छिट्टै निकास पाउँछः प्रधानमन्त्री दाहाल
हेटौंडा-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौंडाको सडक विस्तारको सवालमा सरकार गम्भीर भएको बताएका छन् ।शुक्रवार हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी सवस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुन्दर नगरी हेटौंडाको सडक विस्तारको जटिलताबारे आफू जानकार रहेको भन्दै सडक विस्तारको लागि भएको जटिलतालाई अन्त्य गर्न सरकार गम्भीरताको साथ लागिपरेको बताए । उनले हेटौंडाको सडक विस्तारको सम्बन्धमा छिट्टै निकास निस्कने बताए ।
प्रदेश राजधानी समेत रहेको हेटौंडामा २५ मिटर सडक विस्तारको विषयबारे यहाँका जनप्रतिनिधिबाट आफूलाई पटक–पटक जानकारी गरिएको बताउँदै उनले समस्या समाधानको क्षेत्रमा आफूहरु लागिपरेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सडक विस्तारको विषय र हेटौंडा र मनहरीमा पर्सा राष्ट्रिय निकुञ्जले पारेको समस्याका बारेमा कुरा उठाएका थिए । उनले सडक विस्तार आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सडक विस्तारको सवालमा के–कस्ता विकल्पहरु हुन सक्नेछन् भन्ने विषयमा आफू यहाँका जनप्रतिनिधिसँग नियमित छलफलमा रहेको समेत उनले बताए । उनले भने, ‘हेटौंडाको सडक विस्तारको विषयमा यहाँको जनप्रतिनिधि महेश बर्तौला जीसँग मैले सिंहदरबारमा पटक–पटक भेटेर छलफल गरेको छु, समस्यालाई समाधान गर्न विकल्प के हुनसक्छ भन्नेमा सरकार गम्भीरता पूर्वक लागिपरेको छ ।,’
मकवानपुरको अर्को ठूलो समस्याको रुपमा रहेको मध्यवर्ती बनको समस्यालाई समाधान गर्नको लागि परिमार्जन सहितको वन ऐन ल्याउन सरकार तयार रहेको र नयाँ कानुनले ती समस्या समाधान गर्ने उनको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै उनले नेपालको विकासमा ठूलो टेवा दिने अपरतामाकोसीलगायत ठूलो जलविद्युत आयोजना निर्माणमा सरकार लागिपरेको, कतिपय योजनाको वित्तीय व्यवस्थापन गरेर निर्माण कार्य सुरु गरिएको उनले बताए ।







