युवाका लागि नमूना संसदीय अभ्यास
हेटौंडा-बागमती प्रदेश युवा परिषद्को आयोजनामा युवाका लागि नमूना संसद अभ्यास हेटौंडामा सुरु भएको छ । चार दिने कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मानिसको सिक्ने र सिकाउने उमेर कहिल्यै नजाने बताएका छन् । मन्त्री थपलियाले भने–‘यो दुनियाँ चलेको दिमागले हो, ज्ञान र विज्ञानले संसारलाइ चुनौती दिन्छ, मानिस जन्मनु मर्नु स्वाभाविक प्रक्रिया हो । तर, जीवनलाइ सफल नागरिकको रुपमा स्थापित हुनु महत्वपूर्ण हुन्छ ।’ युवा नमूना संसद अभ्यास तालिमबाट युवाले वढी भन्दा बढी ज्ञान प्राप्त गर्नुपर्ने र जीवनमा लागू गर्नुपर्ने मन्त्री थपलियाले बताए ।
प्रदेश सरकारको प्रारम्भ हुँदादेखि नै ग्रामीण युवालाइ समेटेर अघि बढेर जाने कार्ययोजना तयार पारेको र सोहीअनुरुप काम भइरहेको उनले बताए । युवाले आफ्नो फिल्डमा गर्ने कार्ययोजनाको पूर्वाधार तयार गरी केही गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युवालाइ सशक्तीकरण गर्ने, नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने, नेतृत्व भूमिकामा पुग्नुपर्छ भन्ने मान्यताका आधारमा कार्यक्रम तय गरेको जानकारी दिए । अबको दिनमा युवाले नेतृत्व गर्न सक्छन भन्ने विश्वासका साथ युवा नेतृत्वको परिकल्पना सहित कार्यक्रमको आयोजना गरेको यस्का लागि युवामा निरन्तरपैरबी, अनुसासन, धैर्यता र निरन्तरता आवस्यक रहेको उनले बताए ।
यो मुलुकमा केही छैन, मुलुकमा केही गर्ने वातावरण नै छैन, यहाँ बसेर केही काम छैन भन्ने भाष्यलाई परिवर्तन गरी यही मुलुकमा केही छ र हामीले नै गर्ने हो, जे गरे पनि भन्ने भाव जागृत गर्ने चौलागाईले बताए । युवालक्षित कार्यक्रम के छन् ? त्यो खोज्नुस्, आवाज उठाउनुस्, यही वर्षभित्र प्रदेश युवा परिषद्को १० हजार युवालाई सीप सिकाउने योजना रहेको उपाध्यक्ष चौलागाईले जानकारी दिए ।







