न्यूनतम पारिश्रमिक दिन नसक्ने संस्थाले कर्मचारी राख्दै नराख्नू

साझाकुरा
२०८१ असार ८, शुक्रबार १०:०९

हेटौंडा-न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव दिएकी छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वय तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिले हेटौंडामा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधनका विषय’ अन्तर्गतको जिल्लास्तरीय अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहले कर्मचारी राख्न नहुने सुझाव दिएकी हुन् ।

अध्यक्ष खड्काले विसं २०७५ मा पत्रकार तथा सञ्चारमाध्यममा कार्यरत संचारकर्मी÷कर्मचारीको न्यूनतम पारिश्रमिक तोकिएकाले यसलाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताइन् । पछिल्लो समय प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप संकट र चुनौती थपिएको उनको भनाइ छ ।

प्रविधिको विकाससँगै चुनौती थपिएको बताउँदै अध्यक्ष खड्काले पत्रकार अभाव, दबाव र प्रविधिको चुनौतीमा रहेका उल्लेख गरिन् । ‘न्यू मिडिया’को विकाससँगै रेडियो, टेलिभिजन, पत्रपत्रिकाले पाउने विज्ञापन घट्दै गएको छ’ उनले भनिन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारीले १६ वर्षअघि बनेका कानुन संशोधन हुन नसकेको भन्दै श्रमजीवी पत्रकारका पक्षमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिइन् । अधिकारीले श्रमिक र सञ्चारमाध्यम दुवै बाँच्नुपर्ने भन्दै सोही अनुसारका कानुन बनाउनु जरुरी रहेको बताइन् ।

कार्यक्रममा मकवानपुरका पत्रकारले ठूला सञ्चारमाध्यमले न्यूनतम पारिश्रमिक नदिने गरेको गुनासो पोखेका थिए । नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकसमेत नपाएको उनीहरुको गुनासो छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर लगायत मकवानपुरका सञ्चारमाध्यमका सञ्चालक र सञ्चारकर्मीको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*