किसानलाई पशुऔषधिजन्य सामग्री हस्तान्तरण

साझाकुरा
२०८१ असार ८, शुक्रबार १०:१४

हेटौंडा- नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) हेटौंडा कार्यालयले मकवानपुरका किसानलाई पशुऔषधिजन्य सामग्री हस्तान्तरण गरेको छ । बिहिवार हेटौंडा–१, चौकीटोलमा रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका २२ जना किसानलाई सामग्री वितरण गरिएको हो । कार्यक्रममा एनएलएसआईपी हेटौंडा कार्यालयका आयोजनाप्रमुख डाक्टर बिदुर गौतमको अध्यक्षता एवम् बागमती प्रदेश दुग्ध विकास बोर्डका बोर्ड सदस्य बासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणि दाहाल, एनएलएसआईपीका पशुचिकित्सक मिथिलेस कर्ण, पशुस्वास्थ्य प्राविधिक धनबहादुररावत, मुकेश यादवलगायतको उपस्थिति थियो । कार्यक्रममा आयोजना प्रमुख डाक्टर गौतमले सामग्री हस्तान्तरणले किसानलाई केही राहत मिल्ने बताए । वितरण गरिएको सामग्रीमा नाम्ले जुका परजीवी नियन्त्रणको औषधि, पशुमा लाग्ने थुनेलो रोग परीक्षणका लागि आवश्यक औजारसहितको औषधिलगायत एक जनालाई झण्डै २० हजार रुपैयाँ जतिको सामग्री वितरण गरिएको आयोजना प्रमुख डाक्टर गौतमले बताए ।

कार्यक्रमका लागि जिल्ला दुग्ध उत्पादक सहकारी संघले संघमा आवद्ध मकवानपुरका ११ संस्था छनोट गरेको र छनोट भएका संस्थाले २–२ जना ब्यावसायिक किसान छनोट गरेका थिए । आयोजनाको सहयोगमा संघले केही दिन पहिला मकवानपुरका २० वटा दुग्ध सहकारीलाई टियोसेन्टी र सुडान घाँसको बीउ वितरण गरेको संघका ब्यवस्थापक कुमारमणि दाहालले बताए ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा विश्व बैंकको ऋण सहयोगमा पशुजन्य मूल्य श्रृंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशुसेवाक्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले आयोजना संचालन गरिएको हो । यो आयोजना आव २०७४÷७५ देखि कार्यान्वयनमा आएको हो भने यसै आव २०८०÷८१ बाट सम्पन्न हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*