मुस्लिम आयोगको हेटौंडामा अभिमुखीकरण
हेटौंडा, ७ असार÷ मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विविध विषयमा सशक्तिकरण तथा क्षमता विकास सम्बन्धी अभिमुखीकरण हेटौंडामा सम्पन्न भएको छ ।मुस्लिम आयोगको आयोजनामा हेटौंडामा शुक्रबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले मुस्लिम समुदायको सशक्तिकरणमा प्रदेश सकारको सधैं सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिन् ।
मुस्लिम लगायत सीमान्तकृत तथा अल्पसंख्यक जाति समुदायको लागि सरकारले संविधानमै आरक्षणको ब्यवस्था गरेको बताउँदै उनले भनिन्, ‘प्राप्त अधिकारहरु लिनको लागि समुदाय नै अग्रसर हुनुपर्छ । राज्य सहयोग गर्न तयार छ तर, राज्यको ढोकासम्म तपाईहरु आउनुपर्छ ।,’ साथै धर्म र जातिको नाममा हुने बिभाजन र राजनीति रोक्न सबै समुदाय सचेत हुनपर्ने मगरको भनाई छ ।मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले लामो संघर्षपछि संविधानमा मुस्लिम समुदायको अधिकारहरु उल्लेख भएको र सोही अनुसार आयोग बनेको बताए ।
आयोग बनेपछि बिभिन्न क्षेत्रमा आरक्षण, समान शिक्षा, सीप विकास, महिलाअधिकारलगायतको पक्षमा उल्लेखित काम भएको उनको भनाई छ । ‘अझै पनि मुस्लिम महिला शिक्षामा पछाडि छ, अन्य समुदायसरह बिभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न सकिरहेको छ्रैन’, अन्सारीले भने, ‘अधिकार खोज्ने मात्र होइन, समान प्रतिस्पर्धा गर्न सक्ने बनाउने हाम्रो उद्देश्य हो ।,’
कार्यक्रममा मुस्लिम आयोगका सदस्य तथा प्रवक्ता मिर्जा अर्साद वेग, सदस्य मोहम्मद समसुल हक, नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, नेकपा एमालेका जिल्ला सदस्य सानु लामा, नेपाल समाजवादी पार्टी मकवानपुरका इन्चार्ज इजहार आलम, मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार न्यौपाने, कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स मियाँ लगायतको आतिथ्यता रहेको थियो ।







