चिठ्ठा विधेयकमा नियत ठीक देखिएनः प्रदेशप्रमुख शर्मा

साझाकुरा
२०८१ असार ९, शनिबार ११:०१

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले चिठ्ठा विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताएका छन् । शुक्रबार प्रदेशप्रमुख कार्यालयमा पत्रकारसँग भएको भेटघाटमा बोदै उनले चिठ्ठा विधेयकमा सरकारको नियत ठीक नभएको बताएका हुन् ।

शर्माले विधेयकमा भएको प्रावधानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पार्न सक्ने दीर्घकालीन प्रभावलाई विश्लेषण गरेर नै सदनमा पुनःविचारको लागि फिर्ता पठाएको स्पष्टीकरण दिए । संविधानले निर्दिष्ट गरेको अधिकारलाई नै प्रयोग गरेर विधेयक फिर्ता पठाएको उनको भनाई थियो । विधेयक परिमार्जन भएर आए प्रमाणिकरण गर्न कुनै समस्या नरहने समेत उनले बताए ।

शर्माले जनताको सुसूचित हुने हकलाई मिडियाले प्रवलीकरण गरेको जनाए । सञ्चारकर्मीहरुले टिआरपी बढाउनै लागि समाचार सम्प्रेषण गर्न नहुनेमा पनि शर्माले जोड दिए । उनले जनतालाई सही सूचना उपलब्ध गराउन आधुनिक सञ्चार माध्यमको सकारात्मक भूमिका अत्यावश्यक रहेको उल्लेख गरे । राष्ट्रको उत्थान गर्न, अवसर खोज्न आधुनिक मिडियासँगको सम्बन्धमा सुनेको सामान्य जनताको भावनाको बारेमा वर्णन गर्न आवश्यक रहेको उनको भनाई छ ।

उनले सञ्चारकर्मीलाई निष्पक्ष ढंगले कलम चलाएर इमान्दार पत्रकारिताको नमूना बन्न सक्नुपर्नेमा जोड दिएका छन् । जिम्मेवार र जवाफदेही आधुनिक सञ्चारमाध्यमको कलम सत्यतथ्यमा आधारित नहुँदा सिंगो पत्रकारितामा धमिलोपन हुने उनको दृष्टिकोण थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*