जेनजी आन्दोलनमा क्षतिग्रस्त ५ मन्त्रालय भवन पुननिर्माण

साझाकुरा
२०८३ बैशाख ८, मंगलवार ०९:१३

हेटौंडा-गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त बागमती प्रदेशका पाँच मन्त्रालय बसेको भवनको पुनर्निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ ।सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा मर्मतसम्भार र पुनर्निर्माणकार्य सम्पन्न भएसँगै सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । कार्यालयले ठेक्का आह्वान गरी प्रदेशका ५ वटा मन्त्रालय रहेका भवनसहित प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रमुखसचिवको निवास गरी ५ वटा भवनको पुनर्निर्माण सम्पन्न भएको हो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले जनताप्रति पारदर्शी र जवाफदेही भएर काम गरिरहेको बताएका छन् ।

उनले मन्त्रालयलगायत प्रदेशका कार्यालयमा आगजनी र तोडफोडपछि असहजरुपमा कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेकोमा अब भवन मर्मत र पुनर्निर्माणपछि पूर्ववत् सहजरुपमा कार्यसम्पादन गर्ने बाटो खुलेको बताए । ‘पुननिर्माण र क्षतिको व्यवस्थापनपछि मन्त्रालयहरु पुरानै अवस्थामा कामगर्ने गरी भवन सार्नेक्रम सुरु भएको छ ।’ उनले भने, ‘सातै प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा पहिले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी भवनको पुनर्निर्माण गर्न समक्ष भएको छ ।’

‘आन्दोलनका क्रममा भौतिक संरचनामा ठुलो क्षतिसँगै लामो समयदेखि कामचलाउ अवस्थामा रह्यौं अब मर्मत र पुनर्निर्माण सकिएसँगै सरकारलाई कार्यसम्पादनमा सहजता हुने र कार्यसम्पादनमा प्रभावकारिता बढ्ने छ’ उनले थपे । जेनजी आन्दोलनका क्रममा अकल्पनीय क्षति भएको भन्दै मुख्यमन्त्री बानियाँले प्रदेशको स्थायी संरचना बनाउनेतर्फ प्रदेश सरकार लागेको र यथाशीघ्र काम सुरुहुने बताएका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशको स्थायी संरचना निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया टुंगिसकेको बताए । यसै आर्थिक वर्षभित्र संरचना निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढ््ने उनको भनाई छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले क्षतिग्रस्त भवनको मर्मत र पुनर्निर्माणका क्रममा भवनको संरचनात्मक सुरक्षालाई विशेष प्राथमिकतामा राखेका भन्दै आगजनीका कारण भवनका संरचना कमजोर बनेकाले विज्ञ र स्ट्रक्चरल इन्जिनियरको टोलीबाट अध्ययन गराई मर्मत र पुनर्निर्माण गरिएको बताए । ‘कम अवधिमा पनि विज्ञको सल्लाह र इन्जिनियरिङका आधारमा पुनर्निर्माण गरिएको छ,’ मन्त्री देवकोटाले भने, ‘मन्त्रालयले इन्जिनियरिङका विज्ञ परिचालन गरी भवनका डन्डीहरु कति तापक्रममा पग्लिएका छन् र संरचना कति सुरक्षित छ भन्ने प्राविधिक अध्ययन गरेको थियो ।’

अर्थ मन्त्रालयबाट प्राप्त ६ करोड ४३ लाख रुपैयाँको विशेष बजेटमार्फत टेन्डर आव्हान गरी केही क्षतिग्रस्त संरचनाको मर्मत गरिएको मन्त्री डा. देवकोटाले बताए । विज्ञको प्रतिवेदनका आधारमा आगामी दिनमा बाँकी संरचनाको पुनर्निर्माणका लागि ८३ करोड २० लाख रुपैयाँको बजेट अनुमान गरिएको छ । मन्त्री डा. देवकोटाका अनुसार जेनजी आन्दोलनका त्रममा १ अर्ब ३५ करोड ३४ लाख ९२ हजार रुपैयाँको क्षति भएको थियो । जसमा भवनतर्फ ५८ करोड १५ लाख रुपैयाँ र सवारी साधनतर्फ (१४३ वटा मोटरसाइकल र ५६ वटा चार पांग्रे गाडीमा क्षति) २४ करोड ७८ लाख रुपैयाँ र जिन्सी सामानमा २७ करोड ३५ लाख रुपैयाँ क्षति भएको थियो ।

यसैगरी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भन्दै विषम अवस्थामा पनि सार्वजनिक खरिद ऐन अनुसार नै बोलपत्र आव्हान गरेर काम गरिएको बताए । सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख भूपेन्द्र यादवले क्षतिग्रस्त संरचनाको मर्मत एवं पुनर्निर्माणमा तीन करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको जानकारी दिए । पाँचवटा मन्त्रालय रहेको भवन भने मर्मत तथा पुनर्निर्माणकालागि एक करोड २८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर कामगरिएको थियो ।पुनर्निर्माणका क्रममारेट्रोफिटिङका साथै प्लास्टर, पेन्टिङ, झ्याल ढोका मर्मत र रङरोगनका काम गरिएका छन् । नयाँ लिफ्ट, ट्रान्सफर्मर, एसी जडान, टायल ग्रेनाइट बिछ्याउने कार्य सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*