घ्याङलेकको मुहार फेर्दै बागमती प्रदेश सरकार
हेटौंडा- बागमती प्रदेश सरकारले मानवविकास सूचकांकमा पछि परेको सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरेको छ ।प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा २५ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडकमध्ये साढे १६ किलोमिटर सडक साढे ५ मिटर चौडा कालोपत्रे भएको हो । यसका साथै, घ्याङलेक–२ को ठाडीखोला र वडा नं. ३ को तामाजोरखोलामा ४०÷४० मिटर लामा दुईवटा पक्की पुल पनि निर्माण सम्पन्न भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीडा.दिनेशचन्द्र देवकोटाले नवनिर्मित कालोपत्रे सडक र पुलको उद्घाटन गरे । उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै मानवविकास सूचकांकमा पछि परेका घ्याङलेक, धादिङको रुबीभ्याली र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए ।
उनले घ्याङलेकको पूर्वाधार विकासका लागि थप ३५ करोड रुपैयाँ बजेटको प्रतिबद्धता जनाउँदै विकासमा दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । जनताको जीवनस्तरमा आमूल परिर्वतन ल्याउन अन्य मन्त्रालयसँग सहकार्यमा गरेर लक्षित कार्यक्रम घोषणा गरिने मन्त्री डा. देवकोटाले बताए । ‘जबसम्म विकासलाई जनताले आत्मसात् गर्दैनन्, तबसम्म त्यो वास्तविक विकास हुन सक्दैन । हामीले बनाएका यी संरचनाले यहाँको भूगोल र जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनुपर्छ,’ उनले भने ।
प्रदेश सांसद गंगानारायण श्रेष्ठले बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पछि परेको यसक्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकारको विशेष ध्यान जानुपर्ने बताए । ‘मानवविकास सूचकांकले देखाएको तथ्यांकले यहाँको अवस्था बोल्छ । यो क्षेत्रको विकासमा प्रदेश सरकारको विशेष ध्यान आवश्यक छ,’ उनले भने । प्रदेश संरचनाकै कारण घ्याङलेकजस्तो विकट ठाउँ राजधानीसँग जोडिन सम्भव भएको बताउँदै अर्का प्रदेश सांसद मातृका प्रसाद भट्टराईले भौतिक विकाससँगै मानवीय चेतनाको विकासमा पनि जोड दिए ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीकाअनुसार, २४ करोड ८८ लाखमा १०.२० किमि र १० करोड ८० लाखमा ६.३० किमिका दुई सडक खण्ड निर्माण भएका हुन् । त्यसैगरी, ११ करोड २८ लाखको लागतमा दुईवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । यी योजनाको म्याद २०८३ सालसम्म भएता पनि तोकिएको समयअगावै काम सम्पन्न भएको कार्यालयले जनाएको छ । समयमै काम सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई सम्मानपत्र प्रदान गरिएको थियो । पुल निर्माणतर्फ सृजना निर्माण सेवा, सिन्धुली तथा सडक कालोपत्रेतर्फ जयबाबा गोरख–सारस–बालकोट जेभी र सञ्जीव–सिन्धुली जेभीका प्रतिनिधिलाई सम्मान गरिएकोथियो ।
सडक पूर्वाधार बनेपछि सिन्धुलीको ‘कर्णाली’ भनिने घ्याङलेक दुर्गममात्र रहेन, यो सम्भावनाको केन्द्र बनेको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले बताए । संघीय सरकारको तुलनामा प्रदेश सरकारको निर्णयप्रक्रिया छिटो भएकाले नै घ्याङलेकको सडक समयमै सम्पन्न हुन सकेको उनले सुनाए । समयमै काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्ड दिने स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता उनले औँल्याए । यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहले नयाँ सडक बनेपछि सवारीको गति बढ्ने र दुर्घटनाको जोखिम पनि बढ्न सक्ने भन्दै सचेत गराए । उनले घर तथा अन्य संरचना निर्माण गर्दा सडकको मापदण्डलाई ध्यान दिन नागरिक र स्थानीय तहलाई अनुरोध गरे ।
यस प्रादेशिक सडकको करिब ९ किलोमिटर कालोपत्रे र दुईवटा महत्वपूर्ण पुल निर्माण गर्न अझै बाँकी छ । यी सबै काम सकिएपछि घ्याङलेक मदन भण्डारी राजमार्ग र बीपी राजमार्गसँग जोडिनेछ । त्यसपछि जिल्ला सदरमुकाम मात्र होइन, प्रदेश र संघीय राजधानीसम्मको पहुँच अझ सहज बन्नेछ । पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार, निर्माण हुन बाँकी दुई पुलमध्ये हाँडीखोलाको २० मिटर लामो पुलको ठेक्का सम्झौता भइसकेको छ । ‘मरिणखोलामा पुल बनाउन र सडक कालोपत्रे गर्न बजेट स्वीकृत भएर आएपछि काम सुरु हुन्छ,’ उनले भने ।
सिन्धुलीको सबैभन्दा विकट मानिने यसक्षेत्रमा भौतिक पूर्वाधार निर्माण भएसँगै स्थानीयको जीवनस्तर सहज बनेको छ । मंगलबार आयोजित उद्घाटन समारोहमा भेटिएका ७८ वर्षीय विन्द्र स्याङ्तानले पुरानो दुःख सम्झिए । ‘पहिला यही बाटोमा नुन–तेल बोकेर दिनभर हिँड्दा पनि सिन्धुली बजारसम्म पुगेर फर्किन मुस्किल थियो । आज गाडी कुदेको देख्दा सपनाजस्तै लागेको छ । नातिनातिनालाई खोलाले बगाउला भन्ने डर पनि हट्यो,’ उनले भने । विगतमा सडक सञ्जाल नहुँदा सामान्य नुनतेल किन्न पनि सास्ती खेपेका स्थानीय शिक्षक श्रवणकुमार सुनुवार अब घ्याङलेक बासीको भविष्यप्रति आशावादी छन् ।
‘अब हाम्रा किसानले फलाएको तरकारीले बजार पाउनेछ । व्यावसायिक कृषि र माछापालनबाट गाउँको आर्थिकस्तर उकासिनेछ,’ उनले भने । घ्याङलेक गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, पालिका उपाध्यक्ष शंकरमान घलान, नेकपा (एमाले)का जिल्ला इन्चार्ज मनोजजंग थापा, सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्कीलगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।







