लाइसेन्स सेवालाई प्रविधिमैत्री बनाउँदै बागमती प्रदेश सरकार
हेटौंडा- सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाप्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने दिशामा बागमती प्रदेश सरकारले ठोस पहल थालेको छ ।बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा यातायात व्यवस्था कार्यालयको सेवा सुधारका विषयमा मातहातका कार्यालयका प्रमुखहरुसँग विस्तृत अन्तरक्रिया भएको छ । यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिँदै आएको सेवामा देखिएका गुनासोलाई न्यूनीकरण गर्ने, सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने तथा प्रविधिको अधिकतम प्रयोगमार्फत् सेवाग्राहीलाई झन्झटमुक्त सेवा उपलब्ध गराउने विषयमा गहन छलफल भएको थियो । सहभागीले सेवा प्रवाहका वर्तमान प्रक्रियागत चरणहरु, तिनमा रहेका जटिलता तथा सुधार गर्न सकिने सम्भावित उपायबारे विश्लेषणात्मक प्रस्तुतीकरण गरेका थिए ।
सेवा सुधारका लागि आवश्यक कानुनी तथा प्रक्रियागत आधारबारे पनि विस्तृत बहस भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यातायातक्षेत्रमा देखिएका क्षेत्रगत समस्याको पहिचान गर्दै तत्काल कार्यान्वयन गर्न सकिने सुधारका उपायमा जोड दिइएको थियो । यसैगरी, सेवा सरलीकरण, डिजिटल प्रणालीको विकास तथा प्रयोग, भीडभाड न्यूनीकरण र विचौलियाको प्रभाव अन्त्य गर्न आवश्यक नीति, ऐन, नियम, कार्यविधि तथा सफ्टवेयर प्रणालीको विकास र कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले सेवा सुधारका लागि आफूहरुले अपनाउन सक्ने उपाय, विभिन्न निकायबीचको समन्वय र कार्यविभाजन तथा त्यसबाट नागरिकले प्राप्त गर्ने सुविधाबारे संयुक्त प्रस्तुतीकरण गरेका थिए ।
उनीहरुले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनलाइन प्रणालीको विस्तार, सेवामा पारदर्शिता अभिवृद्धि, समयसीमा निर्धारण तथा अनुगमन प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, प्रमुखसचिव बाबुराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।







