नाबालिकामाथि जर्वजस्तीकरणीको आरोपमा प्रहरी जवान पक्राउ
हेटौंडा- मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाको भार्तास्थित प्रहरीचौकीभित्रै एक नाबालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।कैलाश–३, स्थित प्रहरीचौकी भार्ताको भान्सा कोठामा र आफू बस्ने घरको भान्सा कोठामा पटकपटक बलात्कृत भएको भन्दै १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएकी छन् । नाबालिकामाथि जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीचौकी भार्तामा कार्यरत् प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट हिरासतमा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।
आरोपित बोटले स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत् नाबालिकामाथि अन्तिमपटक गत ११ जेठ २०८१ बिहानको १ बजेतिर जर्वजस्ती करणी गरेको मकवानपुर प्रहरीले जनाएको छ । पीडित नाबालिकालाई प्रेमको बाहानामा पटकपटक जर्वजस्तीकरणी गरेको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख गरिएको छ । नाबालिकाले १६ जेठमा आफनतका साथमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी हुन् ।
जाहेरीमा नाबालिकाले भार्ता प्रहरीचौकीको भान्सा कोठामा लगेर जवान बोटले पटकपटक जर्वजस्ती करणी गरेको उल्लेख गरेकी छन् । तर, घटना भएको मिति भने उल्लेख छैन । अन्तिम पटक ११ जेठमा पनि नाबालिका बस्दै आएको ३ नम्बर वडास्थित एक घरको भान्सा कोठामा जर्वजस्ती करणी गरेको आरोप लगाइएको छ । आरोपित बोटले गर्भपतनगराउने औषधि सेवन गर्न लगाएको नाबालिकाले उजुरीमा दाबी गरेकी छन् ।
१६ जेठमै जवान बोटलाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए । घटनाको अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीबाटै भएको जर्वजस्तीकरणीको घटना यतिन्जेल सम्म अनुसन्धानको नाममा गुपचुपमा राखिएको थियो । जवान बोटर नाबालिकाबीच ७÷८ महिना अगाडिदेखि नै चिनाजान भएकोप्रहरी अनुसन्धानबाट खुलेको छ ।
आरोपित बोटले नाबालिकालाई प्रेमपत्र लेखेर रातको समयमा भेट्न बोलाउने गरेको र प्रहरीले पत्र पनि फेला पारेको बताइएको छ । नाबालिकाको चिनजानकी एक महिलाले बोटले पठाएको प्रेमपत्र भेटेपछि सोधपुछ गर्दा उनीमाथि भएको घटना बाहिर आएको हो । प्रहरीचौकी भार्तामा ५ जना प्रहरी कार्यरत् छन् । प्रहरीचौकी भार्ताका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवीन कुँवरले घटना जाहेरी दर्ता भएपछि मात्रै थाहा पाएको बताए । प्रहरीचौकी र भान्सा कोठा छुट्टाछ्ुट्टै ठाउँमा रहेकाले घटनाबारे आफूलाई जानकारी नभएको उनको भनाई छ ।
‘म यहाँ आएको दुई महिनामात्रै भयो । मलाई त घटनाबारे केही थाहा थिएन, जाहेरी परेपछि मात्रै बुझेँ । चौकीको भान्सामा भएको घटनाको विषयमा पनि मलाई जानकारी भएन,’ कुँवरले भने । दैनिक रुपमा २÷३ जना नियमित फिल्डमा खटिने भएकाले चौकीमा दिनभर भएका सबै घटनाका बारेमा जानकारी हुन नसकेको कुँवरले उल्लेख गरेका छन् ।







