बहुप्रकोपीय उच्चजोखिममा बागमती प्रदेश

साझाकुरा
२०८१ असार १०, आईतवार १२:०२

हेटौंडा- बागमती प्रदेश विपद् जोखिमको दृष्टिकोणले बहुप्रकोपीय उच्च जोखिममा छ । बागमतीमा बाढी, पहिरो र चट्याङ जस्ता तीनवटै विपद्को जोखिम अधिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।प्रदेशका जिल्लाहरु पहिरोको उच्चजोखिममा रहेको प्राधिकरणको भनाई छ । प्रदेशको रसुवा, दोलखा, सिन्धुपाल्चोक,रामेछाप, धादिङ, नुवाकोट, ललितपुर र मकवानपुर पहिरोको उच्चजोखिममा रहेका छन् भने मध्य तराईमा पर्ने मकवानपुरसहित चितवन, सिन्धुली, उपत्यकाको काठमाडौंमा बाढीको उच्चजोखिम रहेको छ ।

प्रदेशमा सुनकोशी, भोटेकोशी, त्रिशूली, राप्ती, बागमती, अन्य सानाठूला गरी ३३ वटा नदी छन् । नदी र मुख्य जलाधारबाट उत्पन्न बाढी तथा डुबानका घटना हुने गरेको विगतको तथ्यांकले देखाउँछ । विगतका वर्षमा नुवाकोट,सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलान्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएकोमा नुवाकोट जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो । बागमतीमा यस वर्ष विपद्बाट ३३ हजार ३ सय ७१ घरधुरी प्रत्यक्ष प्रभावित हुने आंकलन गरिएको छ । प्रदेशमा मनसुनका कारण झन्डै डेढ लाख जनसंख्या प्रभावित हुने अनुमान छ । प्रदेशमा १ लाख ४५ हजार नागरिक विभिन्न विपद्का घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशमा विपद्का घटनामा एक वर्षको अवधिमा ६१ जनाले ज्यान गुमाएका छन् । २०८० जेठ २२ देखि २०८१ जेठ २२ गतेसम्म प्रदेशमा भएको विपद्सम्बन्धी विभिन्न ८३६ घटनामा ६१ जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विपद्का घटनामा परेर १७७ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएका छन् । एक वर्षको अवधिमा भएको विपद्को घटनामा करिब ५१ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार विपद्का घटनाले १७८ पूर्वाधारको क्षति भएको छ भने ६३१ पशुचौपाया मृत्यु भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार एक वर्षको अवधिमा प्रदेशमा ४९७ आगलागीका घटना भएका छन् भने १२३ स्थानमा वन डढेलो, १०८ पहिरो, ४२ जनावर आतंक, १६ भारी वर्षा भएको छ । बाढी १२, हुरी बतास ११, अन्य गैर प्राकृतिक विपद् ३, सर्पदंश ३, हिमपहिरो ३ र भूकम्प एक पटक गएको मन्त्रालयको तथ्यांक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*