श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट ‘शीतबिन्दु’ सम्मानित

साझाकुरा
२०८१ असार १०, आईतवार १२:०८

हेटौंडा-श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले हरेकवर्ष प्रदान गर्दै आइरहेको सम्मानबाट शीतविन्दुलाई शुक्रबार हेटौडामा सम्मानित गरिएको हो । प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माको नाममा स्थापित सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ । यस अघि १५ हजार रहेको सम्मानको राशी यस वर्षबाट बढाएर २५ हजार रुपैयाँ बनाइएको हो । कार्यक्रममा ज्ञवालीले एकल कवितावाचन गरेका थिए । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कवितावाचन गरेका थिए भने आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीद्वारा रचित गीत गाएका थिए । यस्तै श्यामकुमार बानियाँ, पुरुषोत्तम आचार्य र हरि पौड्यालको विविध सांगीतिक प्रस्तुति गरेका थिए ।

साहित्य संगमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवद्र्धनमा भएको सम्मान तथा सांगीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गरेका थिए । २०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री–२०४६(उपन्यास), चिता जलिरहेछ –२०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया–२०५७ (कविता संग्रह), कुहिरो–२०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग–(२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*