कुपोषण न्यूनीकरणमा कैलाशको सक्रियता
हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकामा पनि बालबालिका, सुत्केरी तथा गर्भवती महिलामा हुने कुपोषणको दर उच्चमात्रामा रहेको छ ।कुपोषणको समस्या बढ्दै जान थालेपछि त्यसको पहिचान र उपचारको लागि कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कुपोषणनिराकरणमा अभियान नै चलाएको छ । कुपोषितको खोजी गरी गाउँपालिकाले कडा शीघ्र कुपोषण भएकाहरुलाई बहिरंग स्वास्थ्य उपचारकेन्द्र नै स्थापना गरी उपचार गरिएको छ भने मध्यम शीघ्र कुपोषण भएकाहरुलाई नियमित रुपमा पौष्टिक आहार उपलब्ध गराएको छ ।
‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ भन्ने नाराकासाथ अघि बढेको गाउँपालिकाले गाउँका हरेक टोलमा पुगी कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको थियो । यो अभियानअन्तर्गत गाउँपालिकामा चालु आर्थिक वर्षमा ८२ जना कुपोषित महिला र बालबालिका भेटिएका थिए । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शीघ्र कुपोषित रहेका थिए । कुल संख्यामध्ये कुपोषित बालबालिका ४८ छन् भने २६ जना गर्भवती र सुत्केरी महिलामा कुपोषण भेटिएको थियो ।
गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्यचौकीका कर्मचारी र स्वास्थ्य स्वयम्सेविका १० वटै वडामा परिचालन गरी एकहप्ते अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिला÷बालबालिकाको खोजीगरिएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कृष्ण यादवले बताए । गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो बजेटबाट कुपोषित महिला र बालबालिकालाई नियमित पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरुलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम लगिएको शाखाप्रमुख यादवले बताए ।
कडा शीघ्र कुपोषणको उपचारको लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचारकेन्द्र स्थापना गरिएको छ । ३ नम्बर वडाको कटुन्जे स्वास्थ्यचौकी, ८ नम्बर वडाको भार्ता स्वास्थ्यचौकी र ७ नम्बर वडाको निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ । गाउँपालिकाको ३,४,७ र ८ मा सबैभन्दा बढी कुपोषणका बिरामी छन् । सोही वडालाई लक्षित गरी उपचार केन्द्र स्थापना गरिएको स्वास्थ्यशाखाले जनाएको छ ।अशिक्षा, गरिबी र बालबिवाहका कारण गाउँपालिकामा कुपोषण बढी रहेको गाउँपालिका अध्यक्ष लोक मुक्तानको भनाइ छ । अशिक्षा, गरिबीलाई न्युनीकरण गर्न गाउँपालिकाले योजनावद्ध विकास गरिरहेको सुनाउँदै अध्यक्ष मुक्तानले कुपोषण पनि गाउँको समस्याका रुपमा रहेकाले त्यसको निराकरणका लागि काम थालिएको बताए । कुपोषितको उपचारका साथै उनीहरुलाई आयमुलक काममा जोड्न तरकारीको बीउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको अध्यक्ष मुक्तानले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा कुपोषण पुष्टी भएको घरपरिवारका लागि ८ किसिमका तरकारीका बीउबिजन उपलब्ध गराएको छ ।कुपोषित परिवारमध्ये पिछडिएको र सबैभन्दा गरिबपरिवार पहिचान गरी २१ परिवारलाई प्रतिघर एउटा बोयर जातको बाख्रा वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख यादवले बताए । पहिचान भएका कुपोषितलाई नियमित रुपमा पोषणयुक्त खानेकुरा उपलब्ध गराएसँगै कुपोषणबाट मुक्ति पाउने क्रममा रहेको र यो कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने स्वास्थ्यशाखाको योजना छ ।







