सेनाको गोलीबाट तितुङ मृत्युको घटनामा छानबीन गर्न माग
हेटौंडा-हेटौँडा उपमहानगरपालिका–१४ मा नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबीन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।सेनाको गोली प्रहारबाट हेटौंडा–१४ स्थित बँदेलधापका शुकबहादुर तितुङको मृत्यु भएको भन्दै शनिबार बसेको सर्वपक्षीय बैठकले घटनाको छानबीन गर्न र दोषीमाथि कारबाही गर्न मागगरेको हो । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले पर्सा वन्यजन्तु निकुञ्जबाट खटिएका नेपाली सेनाका सुरक्षाकर्मीबाट गोली प्रहार गरी तितुङको शुक्रबार मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकले घटनाको सत्य तथ्य छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए । यस्तै बैठकले पीडित पक्षलाई न्याय दिलाउन राजनीतिक दललगायत सबै पक्षबाट पहल गर्न ऐक्यबद्धता जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईँले जानकारी दिए ।बैठक प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, बागमती प्रदेशका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, नगरउपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जनप्रतिनिधिहरु र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।







