जंगली च्याउले राक्सिराङका चेपाङको मृत्यु, श्रीमती गम्भीर

साझाकुरा
२०८१ असार ११, सोमबार १३:२३

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ ।शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङपरिवारका ५ जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ–७ का वडाअध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । दलबहादुरलाई आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए । उनको शव भरतपुर अस्पतालमै रहेको छ ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया चेपाङको अवस्था पनि गम्भीर रहेको भरतपुर अस्पतालका चिकित्सक सफलले जानकारी दिएका छन् । दुई छोरीहरु रेञ्जु र सविना तथा छोरा सुशीलको स्वास्थ्य अवस्था भनेसुधारोन्मुख रहेको उनले जनाए । चेपाङ समुदाय छाकटार्नकै लागि च्याउ, वनतरुल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गरेका छन् । जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेका छन् ।

शनिबार राति नै स्वास्थ्य समस्या आए पनि आफूलाई आइतबार १२ बजे मात्रै खबर आएको वडाध्यक्ष चेपाङले बताए । भौगोलिक रुपले विकट राक्सिराङमा पातलो गाउँ, टेलिकम सेवा र यातायात सञ्जालको सहज पहुँच नहुँदा बिरामीले समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम छ ।राक्सिराङ गाउँपालिकामा स्वास्थ्य तथा शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको गैरसरकारी संस्था लिशा हिमालया इभी र दीगो विकासका लागि एकता नेपालले परिवारकै उपचारको जिम्मा लिएको छ । उनीहरुको सबै उपचार खर्च व्यहोर्ने परियोजना व्यवस्थापक अनिल पौडलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*