‘लिटिल बुद्ध’ भनिएका बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर

साझाकुरा
२०८१ असार १२, मंगलवार १०:४२

हेटौंडा- तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बालयौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीका न्यायधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो ।बम्जनमाथि १७ असारमा सजाय निर्धारण हुने अदालतले जनाएको छ । महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो । सर्लाहीस्थित आश्रममा बालयौन दुराचार भएको जाहेरी थियो ।

रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जीतबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जीतबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोगपत्र पेश भएको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान वाइबा बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । घरबाट भाग्न खोज्दा उनी पक्राउ परेका थिए । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहे पनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । त्यसबीचमा उनी बारा, मकवानपुर, सिन्धुली जिल्लाका जंगलमा लुक्दै आएको आशंका गरिएको थियो । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*